स्वास्थ्य सेवा अपाङ्गतामैत्री बनाउन सुझाव

सुर्खेत: अपाङ्गता भएका नागरिकलाई अनुकूल हुने गरी सेवा प्रदान गर्न वीरेन्द्रनगरस्थित नगर अस्पताललाई ध्यानाकर्षण गराइएको छ । नेत्रहिन युवा संघ सुर्खेतले मंगलवार वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरेको नगर अस्पतालमा पुगेर अपाङ्गता भएका व्यक्तिहरूलाई सुलभ, गुणस्तरीय र प्रभावकारी रूपमा स्वास्थ्य सेवाको सुनिश्चितता गर्न ध्यानाकर्षण गराएको हो ।

अस्पतालको भौतिक संरचनाका साथै सेवा पनि अपाङ्गतामैत्री हुनुपर्नेमा संघले जोड दिएको छ । विशेष गरी अपाङ्गता भएका नागरिकलाई अस्पतालले दिने प्रजनन् स्वास्थ्य सेवाको उपभोग गर्ने वातावरण अरू सरह सुनिश्चित गर्नुपर्ने माग गरिएको संघका कोषाध्यक्ष सम्झना बडुवालले बताइन् । ‘नगरपालिकाको स्वास्थ्य सेवामा अधिकतम् पहुँचयुक्तता सहितको भरपर्दो यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदानको लागि आवश्यक व्यवस्थापन गर्न अनुरोध गरिन्छ’ संघले अस्पताललाई बुझाएको ध्यानाकर्षण–पत्रमा उल्लेख गरिएको छ ।

पर्याप्त कानुनी प्रावधानका बावजुत पनि दृष्टिसम्बन्धी लगायत अपाङ्गता भएका युवा तथा विशेष गरी महिलाहरू गोपनीयता र उपयुक्त वातावरण अभावकै कारण सेवा उपभोग गर्नबाट वञ्चित रहेकोतर्फ अस्पताललाई सचेत गराइएको हो । ‘नेपालको संविधान २०७२ धारा ३८ को उपधारा (५) ले विशेष आवश्यकता भएका महिलाको लागि सकारात्मक विभेधिकरण मार्फत समेत सबै प्रकारका यौन तथा प्रजनन् अधिकार उपभोग गर्न पाउने कुराको सुनिश्चितता गर्छ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिको धारा २५ ले पनि अपाङ्गता भएका व्यक्तिहरूलाई अन्य व्यक्ति सरह सेवा सुविधामा पहुँचको अधिकार सुनिश्चित गरेको छ । यस्तै सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ को दफा २८ ले स्वास्थ्य सेवा अपाङ्गतामैत्री हुनुपर्ने भनि किटान गरेको छ’ संघका सचिव चेतन सुनारद्वारा हस्ताक्षरित पत्रमा कानुनी प्रावधानबारे पनि उल्लेख गरिएको छ ।

नगर अस्पतालका संयोजक उदय थापाले संघकातर्फबाट राखिएको माग कार्यान्वयन गर्न सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । साथै उनले आवश्यक छलफल गरेर अघि बढ्ने समेत जनाए ।

प्रकाशित मितिः   २ चैत्र २०७८, बुधबार ०५:०१