जलाधार व्यवस्थापन नीति बनाउन सुझाव

सुर्खेत: जलाधार, उपजलाधार प्राथमिकीकरण एवम् व्यवस्थापन योजना निर्माणसम्बन्धी जिल्लागत अन्तरक्रिया कार्यक्रम सुर्खेतमा सम्पन्न गरिएको छ । जिल्ला समन्वय समिति सुर्खेतको समन्वयमा भू तथा जलाधारा व्यवस्थापन कार्यालय सुर्खेतले अन्तरक्रिया कार्यक्रम गरेको हो ।

जलाधार तथा उपजलाधारा क्षेत्रका विषयमा सुर्खेत जिल्लाको वस्तुस्थितिबारे जानकारी दिनुका साथै तीनवटै तहका सरकारको भूमिका, नीति निर्माण, योजना र कार्यान्वयनका सम्बन्धमा अन्तरक्रिया गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भूसंरक्षण तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शेरबहादुर श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार अन्तरक्रिया कार्यक्रमबाट आगामी आर्थिक वर्षका लागि सुर्खेत जिल्लामा कार्यान्वयन गरिनुपर्ने आवश्यक योजनाका सम्बन्धमा समेत छलफल गरिएको छ ।

भूजलाधारका व्यवस्थापनमा आवश्यक योजना निर्माण गरी कार्यान्वयनमा ल्याउन पहल गर्ने उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामाले बताए । उनले भूसंरक्षणका लागि प्रदेश सरकारले योजना बनाएर अघि बढ्ने जानकारी दिए । ‘भूजलाधार क्षेत्रको संरक्षण गर्नका लागि समयमै उचित अध्ययन गर्न आवश्यक रहेको छ’ मन्त्री लामाले भने, ‘यसका लागि आवश्यक नीति निर्माण र योजना बनाउन तयार छु ।’

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले भूमि र जलस्रोतको विवेकपूर्ण प्रयोग आजको आवश्यकता भएको बताए । संवेदनशील क्षेत्रगत आयोजनालाई मागको आधारमा नभएर आवश्यकताका आधारमा योजना कार्यान्वयन गरिनुपर्ने बताए । अन्तरक्रिया कार्यक्रममा अध्यक्ष्यता ग्रहण गरेका जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले भू जलाधार संरक्षणमा तीनवटै तहले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रकाशित मितिः   २७ फाल्गुन २०७८, शुक्रबार ०५:०१