असईविरुद्ध किटानी जाहेरी

सुर्खेत: कालीकोट तिलागुफा नगरपालिका–३ का ३२ वर्षीय कृष्ण हमालको सुर्खेतमा शंकास्पद मृत्यु भएको घटनालाई लिएर वीरेन्द्रनगरस्थित सुब्बाकुना प्रहरी चौकीका इन्चार्ज (असई) शेरसिंह धामीविरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ । मृतक हमालका आफन्त हिराचन्द्र हमालले आइतवार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा धामीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता गरेका छन् ।

प्रहरीको कुटाइबाट हमालको मृत्यु भएको भन्दै प्रहरी इञ्चार्ज धामीविरुद्ध किटानी जाहेरी दर्ता गरिएको हो । गएको शुक्रवार राती वीरेन्द्रनगर भित्रिने प्रवेशद्वार सुब्बाकुनामा हमाल सवार ट्रकलाई नियन्त्रणमा लिएर कुटपिट गरी उनको मृत्यु भएको आफन्तहरूको आरोप छ । दर्ता गराइएको जाहेरीमा प्रहरीको कुटाइबाट नै हमालको मृत्यु भएको दाबी गरिएको छ ।

हमालको मृत्युभएपछि शनिवार आफन्त आन्दोलित भएका थिए । सोही प्रकरणले शनिवार वीरेन्द्रनगर तनावग्रत बनेको थियो । जिल्ला प्रशासन कार्यालय सुर्खेतले घटनाको छानबिन गर्न समिति गठन गरेपछि आन्दोलन रोकएको थियो । त्यस्तै, आफन्त र प्रशासनबीच आइतवार चार बुँदे सहमति भएको छ । मृतकका आफन्तले आन्दोलन नगर्ने र घटनाको सत्यतथ्य छानबिन गर्ने सहमति भएको हो । पीडित परिवारसँग सहमति भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रजिअ रिजालका अनुसार शनिवार बनाइएको छानबिन समितिमा एक जना चिकित्सकलाई सदस्यका रूपमा थप गर्ने, समितिको प्रतिवेदन बुझाउने म्याद सात दिन बनाउने, पीडकलाई कानुबमोजिम कारबाहीको व्यवस्था गर्ने, मृतकका परिवारलाई उचित राहतको लागि पहल गर्ने सहमति भएको छ । शुक्रवार राती नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका हमालको प्रहरीले नियन्त्रणमा राखेको भोलिपल्ट बिहान मृत्यु भएको थियो ।

प्रकाशित मितिः   २२ फाल्गुन २०७८, आईतवार २०:३७