उद्यमी, आन्दोलन र असुरक्षा
फागुन २१ गते साँझको करिब ६ः३० बजे । वीरेन्द्रनगर एयरपोर्टनजिक रहेको कर्णालीका अर्गानिक, रैथाने र लोपोन्मूख कृषि उपजको बिक्री केन्द्रबाट घर (डेरामा) फर्किँदै थिएँ । मंगलगडी चोकमा पुग्दा त्यहाँ सामान्य झडपको अवस्था सिर्जना भएको रहेछ, प्रहरी र पीडित भनिने पक्षबीच । मलाई यरीचौकबाट भित्र तातापानी डेरामा जानु थियो । साँझ पर्न लागेको थियो । ‘अघि जान पाइन्छ कि नाई ?’ भनेर त्यहाँ रहेका प्रहरीलाई सोधेँ । ‘साईडबाट एक्लै जानुहोस्’ भनेपछि म प्रहरीले भने जस्तै एक्लै गइरहेको थिएँ । जब म एरिचौक पुगें, त्यहाँ पुग्दा सडकमा टायर बलिरहेको थियो । केही आन्दोनकारी थिए अनि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाहेकका अन्य सर्वसाधारण मानिसहरू थिएनन् । वरपरका घरका छतहरूबाट सडकको अवस्था नियालिरहेका थिए ।
सडकका वारीपारी लठ्ठी बजार्दै एक हुल पुलिसको आयो । म एक्लै थिएँ । त्यो हुल देखेपछि कुटाई खाइएला भनेर एक्लै सडकको छेउमा उभिएको थिएँ । एक्कासी एकजना पुललिसले नसोधेरै पछाडि ढाडमा दुई लठ्ठी हिर्काए । मैले ‘सर म आन्दोलनकारी होइन, एयरपोर्ट बिक्री केन्द्रबाट डेरामा जान आएको हुँ’ भने । त्यत्तिकैमा कुनै अपराधीलाई जस्तै गरेर ‘बढि बोल्छस्, साले’ भनेर मेरो मुखमा लठ्ठी कोचिदिए । अर्को एक जनाले ‘यी कुकुरहरूले हैरान गर्ने भए हामीलाई’ भन्दै त्यो हुल अघि बढयो । म पनि अपमानित रूपमा पिटाई खादाँको पीडा र दुःखाई सहित डेरामा गएँ ।
त्यो समयको प्रसंग यति नै थियो । तर म डेरामा पुगेर खाना खाइवरी विस्तारामा पल्टेपछि अनेकौ कुराहरू मनमा खेल्न थाले । दुःखेको शरीर गाईको घिउ लगाएर ‘सेकताप’ गरें । हुन त आन्दोनको समयमा आन्दोलनकारीले भन्दा साधारण हिँडडुल गर्नेहरूले नै पिटाई धेरै खान्छन्, त्यो स्वभाविक पनि हो । तर मलाई पिटाईको भन्दा पनि मानवीय रूपमा राज्यपक्षले गरेको अपमान र छडुवा गालीले आजपनि मन अमिलो बनाइरहेको छ । हानेको चोटभन्दा पनि ममाथि गरेको अत्याचारले पिरोलेको छ ।
म जहाँ कुटाई खाएको थिएँ, त्यो ठाउँमा मभन्दा बाहेक विनापोशाकको अरु कोही थिएनन् । फेरी अर्को कुरा म उभिएको थिएँ, हिँडिरहेको पनि थिइन । मसित कुनै प्रकारका हातहतियार पनि थिएनन् । त्यो अवस्थामा नसोधेर सिधै पिट्ने काम भयो । मुखमा लठ्ठी किल्ने काम भयो र छडुवा गाली गरियो । म सरकारलाई प्रश्न गर्छु, ‘के राज्यले गर्ने कार्यशैली यस्तै हुन त ?, के मानवीयता हुँदैन त पुलिस–प्रशासनमा ? सरासरी, जानाजान यस्तो गर्न मिल्छ त ? के सरकारले जनताप्रति उत्तरदायी भूमिका निभाउनु पर्दैन त ?
मैले यसै सन्दर्भमा अर्को कुरा जोड्न खोजें । प्रहरीको कुटाई खाएर मृत्यु भएका भनिएका कालीकोटका नागरिक कुटाईबाट मृत्यु भएका हुन् वा होइनन् ? उनले के–कति कारणले पिटाई खाए ? हो वा होइन ? त्यो त अनुसन्धानले बताउला । मृत्यु भइसकेपछि आफन्तजन आक्रोशित हुनु पनि स्वभाविक हो । साथै आन्दोलनले उग्र रूप नलियोस् भनेर नियन्त्रण गर्नु पनि स्वभाविक हो । तर नेपालको एउटा संस्कार र अभ्यास निकै गलत छ । त्यो संस्कार र अभ्यास के हो भने अलिकति केही दुर्घटना हुने बित्तिकै सडकमा टायर बाल्नु पर्ने, सडक आन्दोलन गरिहाल्नु पर्ने र पुलिसलाई ढुंगा हानिहाल्नु पर्ने । अर्कोतर्फ पुलिसले संयमता नपनाई अन्धाधुन्ध लठ्ठी हानिहाल्नु पर्ने, तथानाम गालीका पर्रा समेत वर्षाउनु पर्ने ? यो दुवै पक्षबाट हुने गरेका गल्ती र कमजोरीहरू हुन् ।
आन्दोलनकारीहरूले पहिलो कुरा कानुनी लडाँई लड्ने हो । त्यो लडाँईमा बेवास्ता र सुनुवाई नभएको खण्डमा सडक आन्दोन गर्नु पर्ने हो । यहाँको चलन ठीक यसको उल्टो छ । पुलिस प्रशासनले पनि आन्दोनलाई दबाउन अमर्यादित क्रियाकलाप गर्ने होइन, सडकमा आवतजावत गर्ने सबै आन्दोलनकारी होइनन्, आन्दोनको स्तर हेरेर सोहीअनुसारको कदम अघि बढाउनु पर्दछ । वास्तवमा सुर्खेतको वीरेन्द्रनगरमा हुने आन्दोलन र पुलिस प्रशासनको कार्यशैली हेर्दा पुलिस प्रशासनको अत्याधिक अनावश्यकको दमन शैली अपनाएको सर्बत्र चर्चा भएको छ पछिल्लो समयमा र हो पनि । अब पुलिस प्रशासनले आफ्नो कार्यशैलीलाई जनमैत्री बनाउनु पर्दछ । होइन भने जनआक्रोश बढेको खण्डमा नसोचेका दुर्घटनाहरू आउन सक्छन् ।
थोरै अर्को कुरा पनि उल्लेख गर्न चाहें मैलै । वीरेन्द्रनगरमा हुने जुनसुकै प्रकारका सडक आन्दोलनलाई लठ्ठी र बोतलको आन्दोन भन्ने संज्ञा दिएको सुनिन्छ, तर त्यो कुराको सत्यता छैन । के पुलिसले आन्दोनमा सबैलाई लठ्ठी बजार्ने मात्र काम गरेका छन् त ? के आन्दोलनकारीहरू सबै बोतलवाला मात्र हुन् त ? सडक आन्दोलनमा दुवै पक्षका कमिकमजोरी होलान् तर यस प्रकारको संज्ञा दिनु कदापी राम्रो कुरा होइन ।
अर्को कुरा म के उल्लेख गर्न चाहान्छु भने कर्णाली प्रदेको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ठूला उद्योग, कलकारखानाहरू छैनन् । यहाँ सञ्चालित व्यवसायहरू पनि नेपालको अस्थिर राजनीतिक, बंैकले लगानी नलगाएका कारण र कोरनाका कारण धरापमा परेका छन् । त्यसमाथि पनि महिनामा हप्तौदिनसम्म चलेका सडक आन्दोलनले ती साना उद्यम, व्यवसायहरू समाप्तीको दिशातर्फ उन्मूख भएका छन् । सवारी र ढुवानी साधनहरू प्राय चल्न नपाउँदा कारोबार हुन सकेको छैन । दैनिक रूपमा सञ्चालन हुनु पर्ने साना उद्यमहरू, व्यवसायहरूको बजारीकरणमा ठूलो समस्या देखा परेको छ । यति मात्र होइन, दैनिक रूपमा उद्यम, व्यवसायहरू सडक आन्दोलनका कारण सञ्चालन हुन नसक्दा घाटा हुनुका साथै व्याज तिर्नसमेत नसक्ने अवस्था उत्पन्न भएको छ । जसका कारणले उद्यमी, व्यवसायहरू विकराल रूपमा आर्थिक धरापमा परेका छन् । उद्यमी, व्यवसायिहरूले साहु र बैकको ऋण तिर्न नसक्दा समाजमा तिनीहरूलाई हेर्ने दृष्टिकोण त्यती राम्रो छैन ।
अन्त्यमा, कर्णालीको वीरेन्द्रनगर सधै सडक आन्दोनको घेराबन्दीमा छ । जसका कारणले सबैलाई तनाब र समस्यामा फसाएको छ । सडक आन्दोलन गर्नु नै गलत त भन्न मिल्दैन तर आन्दोनका अन्य स्वरूपहरू पनि छन् । सकभर उद्यम, व्यवसाय, शैक्षिक संस्था सधै निर्विवादित रूपमा सञ्चान हुन दिने गरी आन्दोलन गर्नु पर्दछ की ? सञ्चालन भएका उद्यम, व्यवसायहरू बन्द गर्न लगाएर आन्दोन सफल हुन सक्दैन । जहिले पनि उद्यम, व्यवसाय बन्द गराएर आन्दोलन गर्ने नेपालको संस्कार र अभ्यास अब सधैका लागि बन्द गर्नु पर्दछ ।
आन्दोलनको एउटा मूख्य सर्त के हो भने लडाँई आन्दोलनकारीको सत्तासँग हुने गर्दछ । न की उद्यम–व्यवसायसित । त्यसकारण सानो समस्या उत्पन्न हुने बित्तिकै सडक आन्दोलन गर्ने र उद्यम, व्यवसाय चौपट हुने गरी बन्द गराउने प्रचलनको अन्त्यका लागि तपाईं, हामी सबै जिम्मेवार बनेर समाज र समाजको अवस्थालाई मध्यनजर गर्दै आत्मसमीक्षा गरेर हाम्रो सोच र कार्यशैली बदल्न आवश्यक छ । साथै राज्यपक्ष अति संवेदनशील हुन आवश्यक छ । राज्यका हरेक अंगहरू अब कारिन्दा शैलीमा होइन, सामाजिक गति र सोच, आवश्यकताका आधारमा रूपान्तरित हुन आवश्यक देखिन्छ ।
-कविराज खत्री
प्रकाशित मितिः २३ फाल्गुन २०७८, सोमबार ०५:०३
कविराज खत्री ।