युवकको मृत्युपछि आफन्त आन्दोलित

सुर्खेत: कालीकोट तिलागुफा नगरपालिकाका ३२ वर्षीय कृष्ण हमालको मृत्यु भएको घटनालाई लिएर आफन्तहरू आन्दोलित भएका छन् । प्रहरीको निर्घात कुटपिटबाट हमालको मृत्यु भएको आफन्तको आरोप छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार हमाल नेपालगञ्जबाट जुम्ला जाँदै गरेको भे १ क ९२२ नं. को मिनी ट्रकमा सवार थिए । वीरेन्द्रनगरको सुब्बाकुना प्रहरी चेक पोष्टमा हमाल र ट्रक चालकसँग प्रहरीले शुक्रवार राती ११ः५० बजे सवारी चालक अनुमति पत्र र सवारी साधनसम्बन्धी अन्य कागजातबारे सोधपुछ गरेको थियो । सवारीसम्बन्धी कागजात नभएपछि प्रहरीलले ट्रक त्यही रोक्यो, हमाल सोही ट्रकमा सुते । चालक अनुमति पत्र भएका बलबहादुर बिसी आएर शनिवार बिहान ८ः३० बजे ट्रक लिएर गएको र हमाल पनि त्यसमै गएको प्रशासन कार्यालयले जनाएको छ । हमालको शुक्रवार १०ः३० बजे सुर्खेत हस्पिटल प्रालिमा मृत्यु भएको बताइएको छ । यद्यपि, अस्पतालले भने एक विज्ञप्तीमार्फत हमालको उपचारका क्रममा मृत्यु नभएको जनाएको छ । अस्पतालका अनुसार आकस्मिक कक्षमा १०ः१५ बजे ल्याइएका उनको चेकजाँच गर्दा शरिरमा जीवित चिन्हहरू थिएनन् । अस्पतालमा ल्याउनुपूर्व नै उनको मृत्यु भएको अस्पतालको भनाइ छ ।

घटनाबारे छानबिन गर्न सहायक प्रजिअको संयोजकत्वमा समिति

सोही घटनालाई लिएर प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले घटनाबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा शनिवार साँझ चार सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले घटनाको सत्यतथ्य छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउने प्रशासन कार्यालयले जनाएको छ । सोही विषयलाई लिएर शान्ति सुरक्षामा खलल हुने गतिविधि नगर्न प्रशासन कार्यालयले अनुरोध गरेको छ । आक्रोशित बनेका आफन्तले शनिवार वीरन्द्रनगर बजार क्षेत्रमा प्रहरीविरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले वीरेन्द्रचोकमा रहेको प्रहरी बिट तोडफोड गरेका छन् । आन्दोलन उग्र बन्ने त्रासले बजार क्षेत्र दिनभर तनावग्रत रह्यो । व्यवसायीहरूले पसलमा क्षती हुने त्रासले बजार बन्द गरेका थिए ।

प्रकाशित मितिः   २१ फाल्गुन २०७८, शनिबार १९:२३