‘ज्योति’ छर्ने दृष्टिविहीन
सुर्खेत: सोमना खड्का शिक्षक हुन् । भेरीगंगा नगरपालिका–९ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यापन गर्छिन् । अरुलाई बाटो देखाउने पेसामा लागेकी उनलाई आफैले पाइलैपिच्छे संघर्ष गर्नुपर्छ । सोमना दृष्टिविहीन हुन् । ३० वर्षीया उनले दुुई वर्षको हुँदा दुवै आँखाका ज्योति गुुमाइन् । बामेसर्ने उमेरमै अपाङ्गता भएकी उनले थुप्रै पीडा भोगिन्, समाजको विभेद खेपिन् । त्योक्रम अझै रोकिएको छैन । सोमना भन्छिन्, ‘हामीलाई हेर्ने नजर फरक छ, हरेक पाइलामा अड्चन छन्, अप्ठ्यारा छन् ।’
दैलेखको भगवतीमाई गाउँपालिका–५ मा जन्मिएकी उनले एमएडसम्मको अध्ययन पूरा गरेकी छन् । वर्षाैं संघर्ष गरेर आफ्नो पढाइ सकिन् । केही वर्षयता पढाउन थालेकी हुन् । पहाडी भूगोलमा बाल्यकाल बिताएकी सोमनालाई दुःखका पहाडले पनि घेरिरहे । गुुमेको उनको आँखाको ज्योति फर्काउने अनेक प्रयास भए । परिवारले उपचारका लागि निकै कोशिस ग¥यो । उपचार सम्भव भएन । आँखाको ज्योति फर्किएन । आमाको स्नेह र समाजको अपहेलनाकाबिच उनको बाल्यकाल बित्यो । दृष्टिविहीन उनलाई विद्यालयमा समेत विभेद हुन्थ्यो । ‘आजसम्म शारीरिक र मानसिक रूपमा थुप्रै हिंसा बेहोर्नुु परिरहेकै छ,’ सोमना भन्छिन्, ‘स्कुलमा खेल्ने साथी र बुभ्mने शिक्षक पाइन, त्यसैले मैले शिक्षक नै बन्ने अठोट लिएँ ।’
दैलेखको नारायण नगरपालिका–१ का ४४ वर्षीय कुमार गौतम पनि शिक्षक हुन् । उनी अपाङ्गता छन् । हिँडडुल गर्न सक्दैनन् । एक वर्षकै उमेरदेखि उनका दुवै खुट्टामा समस्या आयो । उपचारको प्रयास सम्भव भएन । घरमै बसेर माध्यमिक तहको पढाइ सके । विद्यालय नियमित जान उनीसँग ह्वीलचियर थिएन । परीक्षा दिन परिवारले बोकेर लैजान्थ्यो । खुट्टाले साथ नदिएपनि उनको पढ्ने चाहाना रोकिएन उच्च शिक्षा अध्ययन गरे । कुमारले २०७४ सालमा बिएड सके । त्यसपछि उनी शिक्षक बने । ६ वर्ष पीसीएप कोटामा पढाए । महिनामा तीन हजार तलब थियो । कुमारलाई लाग्यो, यो त श्रम शोषण हो । उनले त्यतिबेला श्रम शोषण भएको भन्दै मानव अधिकार आयोगमा उजुरी दिए । ‘तर, मलाई कसैले सहयोग गरेनन्,’ कुमार भन्छन्, ‘बरु उल्टै त्यो विद्यालयबाटै पीसीएप कोटा नै हटाइयो ।’ कार्यरत विद्यालयमा आफ्नो कोटा हटेपनि उनको शिक्षण पेसा रोकिएन, २०७४ असारदेखि अस्थायी दरबन्दीमा फेरि पढाउन सुरु गरे । केही वर्षयतादेखि नारायण नगरपालिका–१ को देउती प्राथमिक विद्यालयमा कार्यरत छन् । कुमार भन्छन्, ‘मैले विद्यार्थीकालमा मात्रै होइन शिक्षक बन्नेक्रममा पनि थुप्रै चुनौती झेले । अपाङ्गता भएकाले शिक्षक पदमा नियुुक्ती पाउनै मुस्किल भयो ।’ राज्यले अपाङ्गता भएकालाई दोस्रो दर्जाको नागरिकका रूपमा हेरिरहेको उनको गुनासो छ । ‘स्वतन्त्र रूपमा हिँडडुल गर्न पाइएको छैन । सेवासुुविधा उपभोगबाट वञ्चित हुनुपर्ने अवस्था छ । जीवन अरुको सहारामा चलिरहेको छ,’ उनले भने, ‘सरकार हामीप्रति गम्भीर छैन ।’
नारायण नगरपालिका–६ का ओमप्रसाद शर्मा शिक्षक छन् । उनी पनि दृष्टिविहीन हुन् । घर नजिकैको रेडक्रस माध्यमिक विद्यालयमा अध्यापन गराउँछन् । ३६ वर्षीय ओमप्रसाद कलिला नानीहरूलाई ज्ञानको ज्योति छरिरहेका छन् । उनले २०६६ सालदेखि शिक्षण पेसा अंगालेका हुन् । पढ्दा निकै संघर्ष गरेका उनले प्रारम्भिक शिक्षा नेपालगञ्जमा लिए । उच्च शिक्षा पढ्न उनी दैलेख फर्किए । स्नातक गरेका ओमप्रसादले शारीरिक अवस्थाका कारण पटक–पटक हरेस पनि खाए । ‘गाउँ समाजको व्यवहारले दिक्क भइन्थ्यो,’ उनले भने, ‘तैपनि सामना गर्दै लक्ष्यमा अघि बढिरहेँ ।’ शिक्षक शर्मालाई पेसागत रूपमा पनि विभेद छ । दृष्टिविहिन भएकै कारण उनी विभिन्न पेसागत तालिमबाट समेत वञ्चित हुनुपरेको छ । ‘बुझेका र समाजका अगुवाहरू नै अझै हामीलाई मजाककै पात्र बनाउन खोज्छन्,’ ओमप्रसाद भन्छन् ।
सोमना, कुमार र ओमप्रसाद प्रतिनिधिमूलक पात्र हुन, जो शिक्षित र सम्मानित पेसामा रहेर पनि अपमान खेपिरहेका छन् । शारीरिक दुर्बलताको कारण देखाउँदै उनीहरूलाई मानसिक पीडा दिइन्छ । समाजलाई डो¥याउने पेसामा लागेको उनीहरूजस्तै धेरैको दैनिकी निकै असहज छ । न समाज अपाङ्गमैत्री बनेको छ न त अनुकुल संरचना बनाइएका छन् । उनीहरूका पाइला–पाइलामा बाधा छन् । राज्यका संरचना अपाङ्गगतामैत्री छैनन् । जसले गर्दा पेसा व्यवसायमा रहेका अपाङ्गगता व्यक्तिहरूसमेत पीडित छन् । भौतिक संरचना मात्र होइन राज्यका नीति तथा कार्यक्रम नै अपाङ्गतामैत्री नभएको उनीहरूको गुनासो छ ।
वीरेन्द्रनगरकी शान्ता शर्मा दृष्टिविहीन छन् । ४६ वर्षीय उनले उच्च शिक्षासम्म अध्ययन गरेकी छन् । दुई सन्तानकी आमा शान्ताको दैनिकी थप सकसपूर्ण छ । बालबच्चाको रेखदेखसँगै उनले व्यवसाय चलाउनुपर्छ । जीविकोपार्जनका लागि शान्ताले वीरेन्द्रनगर–८ को खजुरामा धूप उद्योग सञ्चालन गर्छिन् । उद्योग चलाउने आँट गरेकी शान्ताले यसकै आम्दानीबाट परिवारको खर्च जुटाइरहेकी छन् । ‘अपाङ्गता भएकालाई जे गर्न पनि समस्या छ,’ उनले भनिन्, ‘हरेक ठाउँमा ठेस मात्र लाग्छ ।’ शान्ताजस्ता अपाङ्गता भएका थुप्रै व्यक्तिहरू पछिल्लो समय आत्मनिर्भर बन्ने प्रयासमा छन् । उनीहरू भन्छन्, ‘हामी सक्षम छौं । समाजले हेर्ने नजर फेरोस्, राज्यले अपाङ्गतामैत्री नीति र संरचना बनाइदियोस् ।’
प्रकाशित मितिः २१ फाल्गुन २०७८, शनिबार ०५:०६
साझा बिसौनी ।