सुख–दुःखका साथी
पिता नरबहादुर घर्ती र माता दिलसरी घर्तीको कोखबाट सुर्खेतको जर्बुटा गाविसमा २०३८ सालमा जन्मिएका चक्रबहादुर घर्तीको बाल्यकाल सुखद् नै थियो । उनी बाल्यकालमा एकान्तमा बस्न रुचाउने स्वभावका थिए । धेरै साथीहरूको माझमा बस्न उनलाई मन पर्दैनथ्यो । माध्यमिक तहसम्मको अध्ययन करैखोलाबाट पूरा गरेका उनले अमरज्योति उच्च मावि वीरेन्द्रनगरबाट उच्च माध्यमिक तह पूरा गरेका हुन् ।
उनका अन्य साथीहरू पढेर जागिर खाने योजना बुनिरहँदा उनी भने जागिरमा लाग्नु हुँदैन भन्ने स्वभावका थिए । जागिर उनलाई बन्धन जस्तो लाग्थ्यो । बरु व्यापार व्यवसाय गर्दा स्वतन्त्र जीवन बाँच्न पाइन्छ भन्ने उनलाई लाग्थ्यो । तर सधैं आफूले सोचेजस्तो हुँदैन । उनको जीवनमा पनि उनले नसोचेको र मन नलागेकै काम गर्नुपर्ने भयो । उनले एक प्रोजेक्टमा बाध्यताले जागिर खानै पर्ने भयो र जागिर पनि खाए । उनी भन्छन्, ‘जीवनमा आफूले भने जस्तो हुँदो रहेनछ । त्यसैले पनि मैले नचाहेर नै जागिर खानै प¥यो ।’
जागिरमा भए पनि उनको मन भने त्यहाँ रम्न सकेको थिएन । उनी व्यवसाय गर्न चाहन्थे । व्यापार व्यवसायकै बारेमा सोचिरहन्थे । उनले २०६० सालमा एग्रोभेट खोलेर व्यापार सुरु गरे । तर पछि उनले व्यवसाय नै बदलेर डेरी खोलेका थिए । दुई वर्ष जति डेरी सञ्चालन गरेका घर्तीले अहिले होटल व्यवसाय सुरु गरेका छन् । सौजन्य होटलमार्फत् उनी होटल व्यवसायमा लागेका हुन् । उनको बाल्यकालको स्वभाव हेर्ने र देख्ने व्यक्तिहरूले कहिले पनि सोच्न सक्थेनन् कि घर्तीले पछि गएर यसरी व्यापार व्यवसाय खोलेर बस्न सक्छ । तर, मान्छेमा आँट र कसैको हौसला भयो भने जस्तोसुकै काम पनि गर्न सकिन्छ भन्ने उदाहरण पनि घर्ती बनेका छन् ।
उनी कक्षा ८ मा पढ्दा परीक्षा दिनको लागि करैखोला विद्यालयबाट नेवारे विद्यालयमा आउनु पथ्र्यो । उनी परीक्षा दिनको लागि करैखोलाबाट नेवारे स्कुलमा आउँदा केटीहरूको नजिक समेत पर्दैन थिए । उनलाई केटा साथी त बनाउन मन पर्दैन थियो केटीहरूसँगको साथ त झन् धेरै टाढाको कुरा नै भयो । उनले भने, ‘म धेरै साथी बनाउन मन नपराउने मान्छे, त्यसमा पनि केटीहरूको साथ त धेरै परको कुरा भयो ।’ तर जीवनमा मान्छेको मन र स्वभाव सधैं एकैनाश हुँदैन । उनी जति नै एकान्त स्वभावका भए पनि उनको जीवनमा पनि कोही केटीको आगमन भयो । उनले सोचेका त थिइनन् कि मेरो जीवनमा पनि कोही केटीको आगमन होला र विहे नै होला भनेर । तर, मान्छेको जीवनमा एउटा यस्तो साथीको आवश्यक हुन्छ जो साथी आफ्नो जीवनको हरेक यात्रामा सँगसँगै सहयात्रा गरोस् । घर्तीको जीवनमा पनि त्यस्तै सुख–दुःखमा साथ दिने साथीको आगमन थाहै नभएर भयो । प्रेमकुमारी घर्ती उनको जीवनसाथी बनेर आइन् ।
परीक्षा दिएर घर फर्कने क्रममा प्रेमकुमारी र चक्रको भेट सधैं हुने गथ्र्यो तर, बोलचाल भने भएको थिएन । प्रेमकुमारी त्यतिबेला नलखोलाको विद्यालयबाट कक्षा ८ को परीक्षा दिन नेवारे आउने गर्थिन् । परीक्षा सकिने समयसम्म उनीहरूको देखादेख र भेटघाट भएपछि प्रेमकुमारी कक्षा ८ बाट पास भएर कक्षा ९ मा पढ्न करैखोलाको विद्यालयमा आइन् । त्यसपछिका दिनमा त झन् दुवै जना एउटै कक्षामा दिनदिनै भेट हुन थाल्यो । उनीहरू भन्छन्, ‘हाम्रो कक्षा एउटै र सँगै पढ्थ्यौं ।’
घर्तीले आँट नै गरेर प्रेमकुमारीसँग विहेकै कुरा गर्ने सोच बनाए र भने पनि प्रेमकुमारीले पनि घर्तीलाई मन पराउँथिन् । घर्तीले विवाहको प्रस्ताव राखेपछि प्रेमकुमारीले पनि सहजै रूपमा घर्तीको प्रस्तावलाई स्वीकार गरिन् । उनले भनिन्, ‘उहाँले विवाहको प्रस्ताव राख्नु भयो मैले पनि स्वीकार गरँे ।’ घर्तीको घरमा अलि–अलि विवाहको कुरा चलेको थियो । तर, घर्तीले प्रेमकुमारीलाई मन पराउथे । उनीहरू एसएलसी दिएर बसेका थिए । घरमा विवाहको कुरा चलिरहँदा उनीहरूले २०५९ साल वैशाख २७ गते भागी विवाह गरे ।
पिता गगनबहादुर विर्कटा र माता खगीसरा विर्कटाको कोखबाट जर्बुटा गाविसमा २०४० सालमा जन्मिएकी प्रेमकुमारी घर्तीको बाल्यकाल पनि सुखद् नै थियो । घरकी कान्छी छोरी भएका कारण र घरमा धेरै दाजु भाउजु भएका कारण उनले घरको काम गर्नु पर्थेन रमाइलो र सुखद्मय तरिकासँग नै वितेको थियो । बाल्यकालमा उनी सधैं साथी बनाउने, साथीसँग खेल्ने र रमाउने स्वभावकी थिइन् । माइतकी कान्छी छोरी सबैको माया ममतामा हुर्केकी प्रेमकुमारी विवाहपछि घरकी जेठी बुहारीको रूपमा आफूलाई सबैको सामु स्थापित गराउनुपर्ने जिम्मेवारी थपिएको थियो । छोरी र बुहारी हुँदाको अनुभव सुनाउँदै उनले भनिन्, ‘छोरी र बुहारी हुनुमा धेरै फरक हुँदो रै’छ, बुहारी भएर सबैको मन जित्नु सबैभन्दा ठूलो परीक्षा नै रहेछ, तर, मलाई भने त्यति गाह्रो भएन, किनभने घरपरिवार सबै बुझेकै हुन्छ त्यसैले पनि मलाई घरपरिवारमा घुलमिल हुन सहज भयो ।’
विवाह पछिका दिनमा यो जोडीको झगडा भने भएको छैन । एकआपसमा सम्झौता र समझदारी कायम गराउन सकेमा झगडा नै नहुने उनीहरूको भनाइ छ । दुवै जना एकअर्काेको बानी व्यवहारको प्रशंसा पनि खुलेर नै गर्ने गर्छन् । घर्तीलाई प्रेमकुमारीको आफ्ना आफन्त, इष्टमित्रलाई सम्मान गर्नेदेखि घरमा आएका पाहुनालाई समेत राम्रो बोली बचनले स्वागत सत्कार गर्ने बानी मनपर्ने गर्छ । त्यस्तै प्रेमकुमारीलाई पनि घर्तीको सबै बानी मनपर्ने गर्छ । समय र फुर्सद भए सम्म दुवै जना मिलेर काम गर्ने गरेको उनीहरू बताउँछन् ।
उनीहरूका अनुसार दाम्पत्य जीवनलाई सुखमय र दिगोपना दिनको लागि एकअर्काेमा सम्झौता र समझदारी कायम गर्न जरुरी छ । उनीहरू भन्छन्, ‘जबसम्म एकअर्काे बीचमा सम्झौता हँुदैन तबसम्म सम्बन्ध दिगो हुँदैन ।’ उनीहरूका अनुसार जीवनसाथी भनेको एउटा असल साथी हो । हरेक पाइला पाइलामा साथ दिने सुख–दुखको असल साथी नै जीवन साथी हो । हरेक व्यक्तिको जीवनमा यस्तै सुख–दुःखमा साथ दिने जीवनसाथीको आवश्यकता खट्कने गर्छ । श्रीमान् श्रीमतीको नाता सबैभन्दा विश्वासिलो र ठूलो नाता हो ।
प्रस्तुतीः गीता थापा
साझा बिसौनी संवाददाता ।