जनप्रतिनिधिको भूमिकाप्रति आपत्ति

सुर्खेत: वीरेन्द्रनगर–५ स्थित शान्ति लाइन टोल विकास समितिले वडा सदस्यको भूमिकाप्रति आशंका गर्दै आपत्ति जनाएको छ । वडा सदस्य शान्ती पहाडीले सोही वडाकी ५३ वर्षीया डल्ली सुनारले ३५ वर्षदेखि भोगचलन गर्दै आएको जग्गा आफ्नो छोराका नाममा बनाउने बदनियत राखेको समितिको आरोप छ । समितिले त्यसबारे सम्बन्धित निकायको ज्ञापन–पत्रमार्फत ध्यानाकर्षण गराएको हो । शुक्रवार समितिको टोलीले वडा नंं. ५ का अध्यक्ष राजबहादुर गुरुङलाई ज्ञापन–पत्र बुझाएको छ । टोल विकास समितिका अध्यक्ष लक्षुमण थापाका अनुसार पीडितको उपस्थितिमा वडा कार्यालयको ध्यानाकर्षण गराइएको छ ।

सुनारलाई प्रलोभनमा पारी पहाडीले भूमिसम्बन्धी समस्या समाधान आयोगको सुर्खेत कार्यालयमा पठाएको विवरणमा आफ्नो छोराको नाम राखेको आरोप लगाइएको छ । वडा सदस्य पहाडीले वडा कार्यालयबाट सिफारिस बनाइ उक्त ऐलानी जग्गामा भौतिक संरचनासमेत बनाएको समितिले जनाएको छ । जनप्रतिनिधिले जग्गा हत्याउने नियतले नक्कली भूमिहीन खडा गर्नेजस्तो गैरजिम्मेवार काम गरेको समितिले ज्ञापन–पत्रमा उल्लेख गरेको छ । ज्ञापन–पत्रमा भनिएको छ, ‘भूमिहीन जनताको हक अधिकार सूनिश्चित गरी उक्त जग्गा वास्तविक भूमिहीनलाई फर्काउन आवश्यक कदम चाल्न समिति जोडदार माग गर्दछ ।’ टोल विकास समितिका अध्यक्ष थापाले जिल्ला प्रशासन कार्यालय, नापी, मालपोत, भूमिसम्बन्धी समस्या समाधान आयोगको सुर्खेत कार्यालय र वीरेन्द्रनगर नगरपालिकालाई उक्त ज्ञापन–पत्रको बोधार्थ दिइएको जनाए ।

प्रकाशित मितिः   २० फाल्गुन २०७८, शुक्रबार २०:२०