आत्महत्याको अत्यासलाग्दो तथ्यांक
सुर्खेत: आर्थिक वर्ष २०७६/०७७ मा कर्णाली प्रदेशभर एक सय २२ जनाले आत्महत्या गरे । त्यसको पछिल्लो वर्ष उक्त अझ वृद्धि भयो । आर्थिक वर्ष २०७७/७८ मा आत्महत्या गर्नेको संख्या एक सय ७० पुग्यो । यो श्रृंखला बढ्दो क्रममै रहेको छ । चालु आर्थिक वर्षको ६ महिनाम ५४ जनाले आत्महत्या गरिसकेका छन् ।
उल्लेखित तथ्यांकले कर्णाली प्रदेशमा आत्महत्या गर्नेको संख्या बर्सेनि बढ्दै गएको देखाउँछ । प्रदेश प्रहरी कार्यालय सुर्खेतको विवरणअनुसार पछिल्लो अढाई वर्षमा तीन सय ४६ जनाले आत्महत्या गरिसकेका छन् । २०७६/०७७ मा सुर्खेतमा ५५ जनाले आत्महत्या गर्दा दैलेखमा १९ जना, जाजरकोटमा चार जना, रूकुम–पश्चिममा १५ जना, सल्यानमा २३ जना, जुम्लामा तीन जना, डोल्पामा एक जना र कालीकोटमा दुई जनाले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ ।
यस्तै आर्थिक वर्ष २०७७/०७८ मा सुर्खेत ५१ जना, दैलेखमा २६ जना, जाजरकोटमा १९ जना, रूकुम–पश्चिममा १३ जना, सल्यानमा ३४ जना, कालीकोटमा नौ जना, जुम्लामा १३ जना, हुम्लामा दुई जना र मुगुमा तीन जनाले आत्महत्या गरेका थिए । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको विवरणअनुसार २६ जना, दैलेखमा ११ जना, जाजरकोटमा एक जना, सल्यानमा ११ जना, कालीकोटमा तीन जना र डोल्पामा दुई जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । यो अवधिसम्म जुम्ला, हुम्ला र मुगुमा आत्महत्या गर्ने संख्या शून्य छ ।
प्रदेशका दश जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी आत्महत्याका घटना भएका छन् । साढे दुई वर्षको अवधिमा सुर्खेतमा मात्रै एक सय ३२ जनाले आत्महत्या गरेका छन् । सबैभन्दा कम आत्महत्या मुगु र डोल्पामा पाइएको छ । सो अवधिमा मुगु र डोल्पामा तीन–तीन जनाले आत्महत्या गरेका हुन् । प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी झुन्डिएर, विष सेवन गरेर, पानीमा हामफालेर र हातहतियार प्रयोग गरेर आत्महत्या गर्ने गरेको पाइएको छ ।
आत्महत्याको कारण–गरिबी र बेरोजगारी
प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रवक्ता गणेश बमका अनुसार आत्महत्या गर्नुका विविध कारण छन् । ‘धेरै आत्महत्या त आवेशमा आएर हुने गरेको छ’ उनले भने, ‘पारिवारिक कलह, नैराश्यता, मानसिक रोग तथा दीर्घरोगका कारण आत्महत्या गर्ने पनि छन् ।’ गरिबी, प्रेममा धोका, असफलता, आर्थिक लेनदेन, व्यावसायिक तनावका कारण पनि आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको सूचना अधिकारी बमले जानकारी दिए ।
आत्महत्याको प्रमुख कारण डिप्रेसन नै भएको कर्णाली प्रदेश अस्पतालका मनोचिकित्सक डा. सुशील समदर्शी बताउँछन् । ९० प्रतिशत आत्महत्या मानसिक रोगकै कारणले हुने गरेको उनको भनाइ छ । आत्महत्याको प्रयास पुरुषले भन्दा महिलाले धेरै गरेपनि आत्महत्या गर्नेको संख्या पुरुषको बढी हुने गरेको उनले बताए । ‘मानिसले आत्महत्या गर्नुका कारण धेरै हुन सक्छन्,’ समदर्शीले भने, ‘त्यसमध्ये गरिबी र बेरोजगारीका कारण उत्पन्न मानसिक तनावले आत्महत्या गरेको पाएका छौं ।’ पछिल्लो समय लागुऔषध दुव्र्यसनी, बेरोजगारी, प्रेम सम्बन्धको तनाव, यौनजन्य हिंसा, लैङ्गिक हिंसालगायतका थुप्रै कारणले आत्महत्या भइरहेका छन् । उनले भने, ‘भ्रम, त्रास, लामो समयसम्मका दिर्घ रोगीले धेरै आत्महत्या गर्छन् ।’ कर्णाली प्रदेशमा बेरोजगारी र आर्थिक संकटले गर्दा धेरै आत्महत्या हुने गरेको छ ।
आत्महत्याको यो संख्या हेर्दा कर्णालीमा आत्महत्याको विकरण अवस्था देखाउँछ । त्यसैले विज्ञहरूले मनोपरामर्श विधिलाई जनस्तरसम्म पु¥याउन सुझाब दिएका छन् । प्रायःजसो उदासीपन, निर्णय लिन अक्षम, आर्थिक अभाव, मानसिक र दीर्गरोग, दुव्र्यसन र मादक पदार्थ सेवनलगायत कारण मानिसले सजिलै आत्महत्याको बाटो रोज्ने गरेका छन् । डा. समदर्शीका अनुसार यस्ता कारण रोक्न मनोपरामर्श विधि प्रभावकारी हुन्छ । ‘तनावमा जाँदासाथ मनोपरामर्श विधिबाट उपचार हुन सक्यो भने आत्महत्या रोक्न सकिन्छ,’ उनले भने, ‘पारिवारिक तथा अन्य सामुदायिक तवरले उपचारको विधि पनि खोज्न सकिन्छ ।’ उनका अनुसार आत्महत्या गर्ने विचार बारम्बार मनमा आउन लागेपछि त्यस्ता व्यक्तिले कुनै रूपमा आफ्नो विचार पोख्ने गर्छ । ‘जीवन निराश छ । अब भेट नहुन पनि सक्छ । जीवनको कुनै सार छैन । सपनाहरू कुनै सफल भएनन् आदि–इत्यादि भन्न थाल्यो भने मानिसमा केही न केही गडबडी छ भनेर बुझ्नुपर्छ,’ डा. समदर्शीले भने, ‘त्यस्ता व्यक्तिलाई समयमै मनोपरामर्श दिन थालियो भने आत्महत्या रोक्न सकिन्छ ।’
प्रकाशित मितिः २० फाल्गुन २०७८, शुक्रबार ०५:०५
साझा बिसौनी ।