१५ करोड लगानीमा आधुनिक ग्याविन उद्योग स्थापना

सुर्खेत: कर्णाली प्रदेशकै पहिलो र आधुनिक प्रविधियुक्त ग्याविन वायर उद्योग सञ्चालनमा आएको छ । सुर्खेतका व्यवसायीहरू सिद्धिखर रेग्मी, पञ्चरत्न शर्मा, श्यामप्रकाश सापकोटा र दुर्गाप्रसाद रेग्मीले १५ करोडको लागतमा सुरक्षा ग्याविन वायर इण्डष्ट्रिज प्रालि सञ्चालनमा ल्याएका हुन् ।

उद्योगको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीवार उद्घाटन गरेका छन् । उद्योगको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णालीमा ठूलो लगानीको उद्योग स्थापना हुनु खुसीको कुरा भउको बताए । उनले प्रदेशको आर्थिक तथा औद्योगिक विकासका लागि यहाँकै व्यवसायीहरूले ठूला उद्योगमा लगानी गर्नुपर्नेमा समेत जोड दिए । सुरक्षा ग्याविन वायर इण्डष्ट्रिज त्यसैको एक उदाहरण भएको जिकिर शाहीको थियो । उद्योगी र उद्यमीहहरूको विकास गर्नमा सरकार सदैव तत्पर रहेकाले ठूला उद्योगमा लगानी गर्न आह्वानसमेत गरे । प्रदेशको आर्थिक समृद्धिका लागि सरकारलाई निजी क्षेत्रले सहयोग गर्नुपर्ने भन्दै सरकारले पनि लगानी सुरक्षित गर्ने वातावरण तयार गर्ने प्रतिबद्धता मुख्यमन्त्री शाहीले जनाए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही र सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले कर्णालीमा ठूलो क्षमताको आधुनिक ग्याविन वायर उद्योग स्थापना भएकोले निर्माण व्यवसायीहरूलाई तारजाली बाहिरबाट ल्याउने समस्या हट्ने धारणा राखे । वीरेन्द्रनगर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख जीवनारायण बञ्जाडेले औद्योगिक क्षेत्रमा पछिल्लो समय नयाँ र आधुनिक उद्योगहरू स्थापना भइरहेकोमा खुशी व्यक्त गरे ।

वीरेन्द्रनगर–१२ औद्योगिक क्षेत्रमा उद्योग स्थापना गरिएको हो । चीनबाट खरिद गरेर ल्याइएको अत्याधुनिक मेसिनबाट सुर्खेतमै ग्याविन तारजाली उत्पादन सुरु गरिएको उद्योगका अध्यक्ष सिद्धिखर रेग्मीले बताए । उनका अनुसार मेसिनबाट दैनिक नौ हजार ६ सय वर्गमिटर ग्याविन बक्स र दुई हजार किलोग्राम चेनलिङ्क (घेरबार जाली) उत्पादन गर्न सकिन्छ । तीन रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले अप्रत्यक्ष र प्रत्यक्षरूपमा ४० जनालाई रोजगारी दिएको छ । उद्योगले हाल २२ प्रकारका साइजमा ग्याविन तारजाली उत्पादन गर्ने जनाएको छ ।

प्रकाशित मितिः   १९ फाल्गुन २०७८, बिहीबार १९:०५