कृषिमा बढ्दो लगानी

सुर्खेत: नारायण नगरपालिका– २ जाहरकोटकी शान्ति थापा झिसमिसेमै तरकारी लिएर बजार पुग्थिन् । कैयौँ वर्ष यसरी नै उनले डोकोमा तरकारी बोकिन् । बजार पुर्‍याएर बेचिन् । यातायातको सुविधा थिएन । बारीमा फलाएको तरकारी आफैले बजार पुर्‍याउनुपर्ने बाध्यता थियो । अहिले भने अवस्था फेरिएको छ । शान्तिले तरकारीको डोको बजार–बजार डुलाउनु पर्दैन । तरकारी लिन आँगनमै गाडी आइपुग्छ । नारायण नगरपालिकाले कृषकहरूको सहजताका लागि तरकारी ढुवानीको व्यवस्था गरिदिएको छ । ‘नगरपालिकाले ढुवानीका लागि सवारी साधन खरिद गरेको छ,’ उनी भन्छिन्, ‘भारी बोकेर घण्टौं हिँड्नुपर्ने बाध्यता टरेको छ ।’

नारायण नगरपालिकाले गाडी खरिदका लागि १० लाख बजेट सहयोग गरेको छ । उक्त रकममा कृषकहरूद्वारा नै सञ्चालित कृतिदेवल बहुउद्देश्यीय कृषि तथा सहकारी संस्थाले २१ लाख थपेको छ । तरकारी ढुवानीका लागि ३१ लाखमा सवारी साधन खरिद गरिएको हो । सहकारीले गाउँमै तरकारी संकलन केन्द्रसमेत सञ्चालनमा ल्याएको छ । त्यहाँका ५६ जना कृषकले उत्पादन गरेको तरकारी संकलन केन्द्रमा आइपुग्छ ।

कुनै बेला तरकारीको बजार नपाउने जाहरकोटका कृषकहरूलाई अहिले उत्पादन गर्न भ्याइनभ्याइ छ । ‘बजारको केही समस्या छैन,’ शान्तिले भनिन्, ‘उत्पादन मात्रै गर्न सक्नुप¥यो ।’ उनका अनुसार तरकारीको बजारीकरणका लागि पनि स्थानीय सरकारले आवश्यक समन्वय र सहजीकरण गरिदिन्छ । नगरपालिकाले तरकारी खेती गर्नेलाई अनुदानसमेत दिँदै आएको छ । जाहारकोट तरकारी उत्पादनका लागि राम्रो क्षेत्र मानिन्छ । जसले गर्दा स्थानीय सरकारले पनि यहाँ कृषिमा लगानी बढाउँदै लगेको छ । चालु आर्थिक वर्षमा कृषिका लागि ६० लाख बजेट विनियोजन गरिएको नगरप्रमुख रत्नबहादुर खड्काले बताए । उनका अनुसार नगरको वडा नं. ८ तरताङ्गमा फलफूल पकेट क्षेत्र बनाइएको छ । वडा नं. ७ मा कृषकहरूले सामूहिक खेती गर्दै आएका छन् । किसानलाई व्यावसायिक खेतीमा प्रोत्साहन गर्न थुप्रै कार्यक्रम सञ्चालनमा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको अनुदानमा विभिन्न वडामा तरकारी खेतीका लागि टनेल निर्माण भएका छन् । किसानको आयआर्जन वृद्धि गर्नका लागि पनि नगरले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत नारायण नगरपालिकामा यो वर्ष ८० लाख बजेट छुट्याइएको छ । रैथाने बाली संरक्षणका कार्यक्रम पनि कार्यान्वयन भइरहेको नगर प्रमुख खड्काले बताए ।

रूकुम–पश्चिमको मुसीकोट नगरपालिकामा कृषक लक्षित दर्जनौं अनुदानका कार्यक्रम छन् । यो पालिकामा संघीय र प्रदेश सरकारसँगको साझेदारीमा अनुदानका कार्यक्रम सञ्चालन भइरहेका हुन् । कृषि उत्पादनको बजारीकरणमा नगरपालिकाले ठूलो लगानी जुटाएको र सोहीअनुसार योजना बनाइ कार्यान्वयन गरिरहेको नगरप्रमुख देविलाल गौतम बताउँछन् । चालु आर्थिक वर्षमा नगरपालिकाले १६ लाख बजेट कृषि क्षेत्रको लागि विनियोजन गरेको छ । संघ र प्रदेशको शसर्त अनुदान धेरै रहेकाले नगरले कम बजेट राखेको हो । ‘संघ र प्रदेशबाट आएको बजेट नै पर्याप्त भएपछि हामीले थोरै छुट्याएका हौं,’ गौतमले भने । यो पालिकामा कृषकलाई दुधमा अनुदान दिने कार्यक्रम निकै प्रभावकारी बनेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ देखि दुध उत्पादक किसानलाई प्रोत्साहन गर्न दुधमा अनुदान दिँदै आएको हो । चालु वर्षमा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको छ । कार्यक्रम सुरू भएपछि दुग्धजन्य पदार्थको उत्पादन बढेको छ । कृषकहरूको व्यावसायिक पशुपालनमा आकर्षण पनि बढ्दै गएको नगरपालिकाले जनाएको छ । पहिला जिल्लामै नपुग्ने दुग्धजन्य उत्पादन अहिले अन्य प्रदेशमा समेत निर्यात भइरहेको अध्यक्ष गौतमले बताए । नगरपालिकाले कृषकलाई दुधमा प्रतिलिटर तीन रूपैयाँका दरले अनुदान दिँदै आएको छ ।

स्थानीय सरकार गठन भएपछि कृषि तथा पशुपालनका क्षेत्रमा लगानी गर्ने क्रम बढेको छ । स्थानीय सरकारले कृषकमैत्री नीति तथा कार्यक्रममा जोड दिएका छन् । पालिकाहरूले कृषिमा प्राथमिकता दिएसँगै व्यावसायिक खेती र पशुपालनमा युवाहरूको समेत आकर्षण देखिएको छ । स्थानीय सरकारले कृषिलाई केन्द्रित गरेर युवा स्वरोजगारलगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सुर्खेतको चौकुने गाउँपालिकाले पनि कृषि तथा पशुपालनका क्षेत्रमा ठूलो लगानी गर्दै आएको जनाएको छ । चौकुनेलाई अर्गानिक भिलेजमा रूपान्तरण गर्ने योजनाका साथ कार्यक्रमहरू अघि बढाइएको गाउँपालिकाकी उपाध्यक्ष निर्मला मगरले बताइन् । उनका अनुसार त्यसका लागि पालिकाले आवश्यक नीति र कार्ययोजना बनाएको छ । उक्त पालिकाले अर्गानिक मल उत्पादन केन्द्रको स्थापना गरेको छ । गाउँपालिकाको साल्म, कोइरालबास, रेक्चा, बागमारा, सिमलगैरालगायतका क्षेत्रमा बाख्रापालन पकेट क्षेत्रको विकास गरिँदै छ । व्यावसायिक कृषि तथा पशुपालन गर्ने कृषकलाई प्रोत्साहन गर्ने नीति लिइएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मितिः   १९ फाल्गुन २०७८, बिहीबार ०५:०५