कफ्र्यू हटाएर निषेधाज्ञा

सुर्खेत: वीरेन्द्रनगरमा कफ्र्यू हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा वीरेन्द्रनगरमा स्थिति तनावग्रत भएपछि कफ्र्यू लगाइएको थियो । प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले सोमवार बेलुकी सवा ८ बजेदेखि मंगलवार साँझ ७ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको थियो । मंगलवार बेलुकी ७ बजेपछि भने अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । ‘कफ्र्यूलाई खुकुलो बनाएर निषेधाज्ञा जारी गरिएको छ । अवस्था सामान्य बन्दै गएपछि यस्तो निर्णय गरिएको हो,’ प्रजिअ रिजालले भने । प्रशासनले वीरेन्द्रनगर मुख्य बजार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा गरेको हो ।

वीरेन्द्रनगरको यरीचोक, मंगलगढीचोक र हटिया क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन र कुनै पनि विरोध प्रदर्शन गर्नमा रोक लगाइएको छ । एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका दलका कार्यकर्ताले सोमवार सुर्खेतस्थित पार्टी कार्यालयमा तोडफोड र आगजनीको प्रयास गरेका थिए । प्रहरी र प्रदर्शनकारीको झडप हुँदा दर्जनौं घाइते भएका छन् । दोहोरो झडपमा परी स्थानीय केही व्यक्तिहरूसमेत घाइते छन् ।

प्रकाशित मितिः   १७ फाल्गुन २०७८, मंगलवार २१:४०