बदलिँदै सोच, हट्दै कुरीति

सुर्खेत: दैलेखको भैरबी गाउँपालिका–२ कि रूपकला थापा ५२ वर्षकी भइन् । उनीसँग छाउपडी कुप्रथाका कारण विगतमा भोग्नु परेका थुप्रै कष्टका अनुभव छन् । महिनावारीको बेला रूपकलाले घरभन्दा निकै टाढा बनाइएका असुरक्षित कटेरामा कैयौं रात कटाइन् । जसलाई छाउ बार्ने भनिन्छ । केही वर्षअघिसम्म रजस्वला भएका बेला घरभित्र बस्नु हुन्न भन्ने लाग्थ्यो । परिवार र समाजले रूपकलालाई यस्तै सिकाएको थियो । ‘छुइँछाइ गरे अनिष्ट हुने डर लाग्थ्यो,’ उनी भन्छिन्, ‘यो सबै अन्धविश्वास रहेछ, अहिले आएर पो बुझियो ।’

केही वर्ष पहिलेसम्म भैरवीका गाउँहरूमा महिनावारीका सात दिनसम्म महिलालाई घरभित्र पस्न दिइन्थेन । अन्य समयभन्दा यसबेला महिलाहरू झनै कडा परिश्रम गर्थे । पोषिलो खाने, आराम गर्ने र सरसफाइमा ध्यान दिने चलन थिएन । आफूले भोगेका पीडा सम्झदै रूपकला भन्छिन्, ‘अहिले दिन फेरिए, हाम्रो पालाजस्तो छैन ।’ उनका चार छोरी छन् । छोरीहरू महिनावारी हुँदा आफूजस्तो पीडा नहोस् भनेर उनी निकै सचेत हुन्छिन् । महिनावारी हुँदा छोरीहरू घरमै बस्छन् । यो परिवर्तनका लागि रूपकलाले खुबै विद्रोह गर्नुप¥यो । ‘रजस्वला भएकी छोरीलाई घरभित्र राख्दा गाउँ समाजले विरोध गर्थे,’ रूपकलाले भनिन्, ‘मैले सबैलाई सम्झाउने प्रयास गरिरहे ।’ छाउपडी कुप्रथा हटाउन विभिन्न अभियानमा जोडिँदै आएकी उनी समाजमा परिवर्तन ल्याउन आफ्नै घरबाट सुरुवात गर्नुपर्ने बताउँछिन् ।

भैरवीमा केही वर्षपहिलेसम्म घरैपिच्छे छाउ बार्न बनाइएका गोठ थिए । महिलाहरू रजस्वला हुँदा त्यही बस्थे । बर्खे झरी र हिउँदको जाडो खेप्न बाध्य थिए  । असुरक्षित बसाइँले स्वास्थ्य त बिग्रन्थ्यो नै ज्यानसमेत जोखिममा रहन्थ्यो । कति महिलाले यही कुप्रथाका कारण ज्यान गुमाए पनि । जब रूपकलाजस्ता अगुवा महिलाहरू कुरीतिविरुद्ध जागे गाउँमा छाउगोठ मात्रै भत्केनन्, सोचसमेत बदलिए ।

दैलेखको महावु गाउँपालिका–३ बाँसीकी ३९ वर्षीया बालकुमारी नेपालीको महिनावारी बार्दाको पीडा पनि रूपकलाकै जस्तो छ । उनी पनि विगतमा छाउँ गोठमा बसिन् । पहिलो पटक महिनावारी हुँदा सात दिनसम्म साथीको गाउँमा महिनावारी बार्ने गोठमा बसिन् । पहिलो पटक रजस्वला हुँदा घरपरिवार र दाजुभाइ देख्न हुँदैन भन्ने चलन थियो,’ उनले भनिन् । आफूले थुप्रै कष्ट भागेकी उनले पछिल्ला वर्षमा भने समाजको सोच बदलिँदै गएको बताइन् । ‘गाउँभरी छाउ गोठ हुन्थे, मेलापात र घर बाहिरकै काम गर्नुपथ्र्यो,’ उनले विगत सम्झदै भनिन्, ‘दही, दुध खान पाइँदैनथ्यो । अहिले निकै परिवर्तन आइसकेको छ ।’ बालकुमारी महिनावारी हुँदा केही वर्षयतादेखि घरमै बस्छिन् । अरुलाई पनि त्यसै गर्न भनिरहेकी छन् । उनी छाउ बार्नु हुँदैन भन्ने अभियानमा समेत लागेकी छन् । मानिसमा चेतनास्तर बढेसँगै अहिले महिनावारीलाई महिलाको नियमित प्राकृतिक चक्रका रूपमा हेर्न थालिएको उनको बुझाइ छ ।

ठाटीकाँध गाउँपालिका–५ की सुरजा शाहीले महिनावारी हुँदा स्वास्थ्य सावधानी अपनाउन थालेकी छन् । उनी माध्यमिक तहकी विद्यार्थी हुन् । महिनावारीका बेला फोहोर कपडा प्रयोग गर्दै आएकी सुरजाले एक वर्षयतादेखि सेनेटरी प्याड प्रयोग गर्छिन् । विद्यालय र विभिन्न संघ–संस्थाले यसबारे जानकारी दिएपछि महिनावारीको समयमा स्वास्थ्यमा ख्याल गर्न थालेको उनी बताउँछिन् । ‘विगतमा महिनावारी हुुँदा जस्तो भेट्यो त्यस्तै कपडा प्रयोग गर्थे,’ उनले भनिन्, ‘महिनावारीका बेला सरसफाइको आवश्यकताबारे अहिले धेरै बुझ्न पाएकी छु । व्यक्तिगत सरसफाइमा सचेत छु । ’

पछिल्लो समय सबैजसो विद्यालयहरूमा सुरक्षित महिनावारी प्रवद्र्धनका लागि छात्राहरूलाई सचेतनामूलक कार्यक्रम गरिँदै आएको छ । जसले गर्दा आफूहरूलाई निकै सहज भएको छात्राहरू बताउँछन् । सुर्खेतको पञ्चपुरीस्थित सूर्यप्रकाश माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत निर्मला साउदले विद्यालयमा सेनेटरी प्याड निःशुल्क वितरण हुने गरेको बताइन् । उनले अध्ययन गर्ने विद्यालयहरूमा छात्रामैत्री शौचालय छ । ‘महिनावारी हुँदा धेरै साथीहरू विद्यालय नै आउन्थेनन् । अहिले विद्यालयमै सेनेटरी प्याड पाइन्छ । यसले गर्दा हाम्रो पढाइ छुटेको छैन । महिनावारी हुँदा पनि नियमित विद्यालय आइरहेका छौं ।’

दैलेखको आठबीस नगरपालिका–९ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत अनमी शोभा योगीले महिनावारीप्रतिको बुझाइमा धेरै परिवर्तन आइसकेको जनाइन् । उनका अनुसार महिनावारी भएका महिलाहरू सेनेटरी प्याड लिन र सरसफाइका विषयमा बुझ्न निर्धक्क भएर स्वास्थ्य संस्थाहरूमा आउने गरेका छन् । उनी भन्छिन्, ‘विगतजस्तो अवस्था अहिले छैन, महिनावारीलाई सामान्य रूपमा हेर्न थालिएको छ ।’ दैलेखकै दुल्लू नगरपालिका–१० की आशा खड्का आफूले भोेगेको समस्या छोरी बुहारीलाई नपरोस् भनेर निकै सचेत रहेको बताउँछिन् । आशा महिला स्वास्थ्य स्वयम्सेविका पनि हुन् । छाउपडी प्रथाविरुद्धका अभियानमा उनी लामो समयदेखि सक्रिय छिन् । ‘पहिला–पहिला महिनावारी बार्न बारिका छेउछाउ छाप्रा बनाइएका हुन्थे । अहिले त्यस्तो देखिँदैन, उनले भनिन्, ‘ग्रामीण क्षेत्रमा पनि चेतनास्तर बढेको छ ।’ महिनावारीका समयमा छाउगोठमा बस्नु पर्दाको पीडा उनले पनि थुप्रै वर्ष भोगेकी छन् । ‘आजभोलि परिवर्तन भएको देखेर निकै खुसी लाग्छ,’ आशा भन्छिन् ।

माथि उल्लेख गरिएका व्यक्ति र अनुभव केही प्रतिनिधिमूलक मात्र हुन् । पछिल्लो समय असुरक्षित महिनावारी बार्ने चलन हट्दै गएको छ । सुरक्षित महिनावारी प्रवद्र्धनमा उल्लेखनीय प्रगति हुँदै गएको हो । दैलेखको पश्चिम क्षेत्रमा केही वर्षअघिसम्म छाउपडी कुप्रथा व्याप्त थियो । सरकारी र गैरसकारी संघ–संस्था तथा अभियानकर्ताको पहलमा त्यस्तो कुरीति न्यूनीकरण भएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल छाउपडी प्रथा नगन्य मात्रामा रहेको बताउँछन् ‘सामाजिक परम्परा र मान्यता भएकाले शून्य नै पार्न समय लाग्ला,’ उनले भने, विगतजस्तो अवस्था अहिले छैन । सोच र व्यवहारमा धेरै परिवर्तन आइसकेको छ ।’ उनकाअनुसार दैलेखमा छाउपडी प्रथा न्यूनीकरणका लागि प्रहरीले निगरानी गर्दै आएको छ । त्यस्तै, जिल्लाका ११ वटै स्थानीय तहले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

सामाजिक अभियन्ताहरूका अनुसार दैलेखका छिटफुट केही गाउँमा भने अझै पनि महिनावारी भएका बेला छाउगोठमा बस्ने चलन छ । त्यस्ता ठाउँमा जनचेतनामूलक कार्यक्रम बनाएर एकीकृत अभियान चलाउने तयारी गरिएको प्रजिअ प्याकुरेलले बताए । सुरक्षित महिनावारी प्रवद्र्धनमा स्थानीय तहले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । पालिकाहरूले हरेक स्वास्थ्य संस्था र विद्यालयमा सेनेटरी प्याड वितरणसँगै जनचेतनामूलक कार्यक्रम गरिरहेका हुन् । आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराले प्रत्येक विद्यालयमा महिनावारी हुने किशोरीको तथ्याङ्क संकलन गरेर सेनेटरी प्याड वितरण गर्ने गरिएको जनाइन् । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले १८ वटा स्वास्थ्य संस्थाबाट सेनेटरी प्याड वितरण गर्दै आएको छ । नगरका स्वास्थ्य शाखा निरीक्षक भुपेन्द्रदेव गिरीका अनुसार अहिलेसम्म ३३ हजार महिलाले उक्त सेवा लिएका छन् ।

प्रकाशित मितिः   १७ फाल्गुन २०७८, मंगलवार ०५:०४