एमालेद्वारा संसद् अवरुद्ध

सरकारले प्रतिपक्षसँग गरेका सहमति कार्यान्वयनको लिखित प्रतिबद्धता नआएसम्म संसद्को प्रक्रिया अघि बढ्न नदिने अडान

सुर्खेत: प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै प्रदेशसभामा अवरोध सुरू गरेको छ । एमालेले सोमवारको प्रदेशसभा बैठक अवरुद्ध गरेको हो । सत्तापक्षले प्रतिपक्षीसँग गरेको सम्झौतालाई बेवास्ता गरेको एमालेको आरोप छ । नवौं अधिवेशनको दशौं बैठकको सुरूमा बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले सत्ता र प्रतिपक्षबीच भएको सहमतिको कार्यान्वयन नभएको जनाए । उनले सरकारबाट कार्यान्वयनको लिखित प्रतिबद्धता नआएकाले संसद्को प्रक्रिया अघि बढ्न नदिने बताए । नवौं अधिवेशन सुरू भएको केही दिनपछि माघ १८ गते अधिवेशनको कार्यसूची निर्माणकै क्रममा एमालेले प्रदेश सरकारले कार्यान्वयन गर्नुपर्ने पाँच बुँदे मुद्दा उठाएको थियो । उक्त विषयमा सरकारका तर्फबाट पनि सहमति जनाइएको थियो ।

चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट विनियोजनका क्रममा परेका टुक्रे योजनाहरूका बारेमा स्थानीय तहमार्फत सम्पादन हुने बाहेकका १५ लाखभन्दा कम बजेट भएका योजना कार्यान्वयन नगर्ने सत्ता प्रतिपक्ष सहमति भएको थियो । त्यस्तै, आगामी दिनमा पनि यिनै मापदण्डका आधारमा योजना तर्जुमा गर्ने सहमति गरिएको थियो । मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा विगतको कार्यविधिमा रहेको स्थानीय तहको भूमिका र प्रदेशसभा सदस्यको भूमिकालाई कायम गरी कार्यविधिलाई सुधार गर्नेलगायतका सहमति भएका थिए । विपक्षी रिझाउन सरकारले उतिबेला विभिन्न मुद्धामा सहमति जनाए पनि त्यसको कार्यान्वयन नगरेपछि एमाले फेरि संसद् अवरोधमा उत्रिएको हो । विपक्षीका मागको सम्बोधन गर्न आलटाल गरेको भन्दै यसअघि पनि एमालेले लामो समय संसद् अवरोध गरेको थियो । संसद्को गतिरोध हटाउन सरकार प्रतिपक्षसँग पाँच बुँदे सहमति गर्न बाध्य भएको थियो । एमाले संसदीय दलका नेता यामलाल कंडेल भएका सहमति कार्यान्वयनमा अघि नबढेसम्म संसद् अवरोध जारी रहने बताउँछन् ।

प्रकाशित मितिः   १७ फाल्गुन २०७८, मंगलवार ०५:०१