शैक्षिक विकेन्द्रीकरण
स्थानीय तहहरू आधारभूत तहका विद्यालयका लागि पाठ्यक्रम निर्माणमा छन् । एउटा विषयको आफ्नै पाठ्यक्रम निर्माण गरी लागू गर्न पालिकाहरू जुटेका छन् । वीरेन्द्रनगर नगरपालिकाले पाठ्यक्रम बनाएर पठनपाठन थालिसकेको छ । जिल्लाका अन्य आठ वटा पालिकाहरूमा पाठ्यक्रम बन्दैछन् । ती स्थानीय तहमा पाठ्यक्रम निर्माणका काम भइरहेका छन् । आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्न पाउने अधिकार स्थानीय तहलाई छ । कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि १०० पूर्णाङ्कको मातृभाषा वा स्थानीयस्तरको आवश्यकतामा आधारित विषयवस्तु समेटेर पाठ्यक्रम बनाउनुपर्ने प्रावधान छ । वीरेन्द्रनगरमा चालु शैक्षिकसत्रदेखि कक्षा १, ३ र ६ का विद्यार्थीका लागि स्थानीय पाठ्यक्रम लागू गरिएको छ । वीरेन्द्रनगरले नगरको विविधता झल्कने विषयवस्तु पाठ्यक्रममा समेटेको छ । पाठ्यक्रम निर्माणको प्रक्रियामा रहेका जिल्लाका अरु स्थानीय तहले आउँदो शैक्षिकसत्रदेखि लागू गर्नेगरी तयारी गरिरहेका छन् । पाालिकाले बनाउने पाठ्यक्रम र पाठ्यपुस्तकलाई शैक्षिक विकेन्द्रीकरणको महङ्खवपूर्ण खुड्किलाका रूपमा हेरिएको छ ।
संघीयतापछि माध्यमिक तहसम्मका विद्यालय स्थानीय तह मातहत छन् । आफ्नो क्षेत्रभित्रको शैक्षिक विकासका लागि पालिकाहरूले शिक्षा ऐन बनाउनेदेखि पाठ्यक्रम निर्माणसम्मका काम गरिरहेका छन् । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार स्थानीय आवश्यकतामा आधारित शिक्षा प्रदान गर्न पाठ्यक्रम तयार पार्नुपर्ने भनिएको छ । जसअन्तर्गत स्थानीय तहमा अनुकूल हुने विषयहरू समेटेर पाठ्यक्रम निर्माण गरिँदै छन् । केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका विषयवस्तु यसमा समेटिनु पर्दछ । स्थानीयस्तरका आवश्यकतामा आधारित भएर पाठ्यक्रम निर्माण गरिए मात्रै यसले व्यावहारिक शिक्षा प्रदान गर्न सहयोग पुग्छ । केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय भूगोल, संस्कृति र जनजीवनजस्ता पक्षलाई समेट्न नसक्ने ठहर गर्दै स्थानीय पाठ्यक्रमको अवधारणा आएको हो । त्यसैले पाठ्यक्रम निर्माण गरिरहेका पालिकाहरूले स्थानीय कला, संस्कृति, सीप, पेसा–व्यवसाय तथा स्रोतसाधनको महङ्खव र आवश्यकताजस्ता विषयलाई महङ्खव दिन आवश्यक छ ।
स्थानीय तहले पाठ्यक्रम निर्माणमा लामो समय लगाउँदा पठनपाठनमा भने समस्या भइरहेको सरोकारवालाको गुनासो छ । उक्त विषयको साटो के पठनपाठन गराउने भन्ने अन्योल विद्यालयहरूलाई छ । अधिकांशमा अहिले पनि स्थानीय पाठ्यक्रमका रूपमा ऐच्छिक अंग्रेजी र कम्प्युटरजस्ता विषय पढाइ हुन्छन् । उसो त पाठ्यक्रम निर्माणमा थुप्रै चुनौतीहरू छन् । स्थानीय पाठ्यक्रम बनाउन सुरु गरेका कतिपय पालिकामा बजेट र दक्ष जनशक्ति अभाव रहेको बुझिएको छ । यसले गर्दा पाठ्यक्रम निर्माणमा बाधा पुगेको छ । पाठ्यक्रम बनाउन ठूलो बजेट आवश्यक पर्दछ भने पाठ्यपुस्तक छाप्न झनै खर्चिलो छ । स्थानीय तहहरू पाठ्यक्रम निर्माणका लागि चाहिने बजेट र जनशक्तिको व्यवस्थापनमा गम्भीर बन्न जरुरी देखिएको छ ।
प्रकाशित मितिः १७ फाल्गुन २०७८, मंगलवार ०५:०२
सम्पादकीय ।