बन्दकर्ताले गरे आगजनी र तोडफोड

सुर्खेत: एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका दलका कार्यकर्ताले पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । नेकपा एमालेको सुर्खेतको कार्यालयमा आगजनी भएको छ भने कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड भएको छ । सोमवार दिनभर वीरेन्द्रनगरको सडकमा नाराबाजी गरेका बन्दकर्ताले साँझ पार्टी कार्यालयहरू तोडफोड गरेका हुन् । बन्दकर्ताले मंगलगढी र यरीचोकमा रहेका प्रहरी बिटसमेत जलाएका छन् । प्रहरीले भीडलाई तितरबितर पार्न केही राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । वीरेन्द्रनगर क्षेत्रमा अवस्था तनावग्रस्त बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार सोमवार राती सवा ८ बजेदेखि मंगलवार साँझ ७ बजेसम्मका लागि कफर््यू आदेश जारी भएको छ ।

वीरेन्द्रनगरको अवस्था तनावग्रस्त भएपछि प्रशासनले मंगलवार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ

सोमवार बन्दको आह्वान गर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाललगायतका दल हुन् ।

प्रकाशित मितिः   १६ फाल्गुन २०७८, सोमबार २१:१३