बन्दैछन् स्थानीय पाठ्यक्रम

वीरेन्द्रनगर नगरपालिकाले चालु शैक्षिक सत्रदेखि पाठ्यक्रम लागू गरिसकेको छ भने अन्य आठ वटा पालिका निर्माणको प्रक्रियामा छन् ।

सुर्खेत: आधारभूत र माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ । पालिकाहरूले आधारभूत तहका विद्यालयमा एक विषयको आफ्नै पाठ्यक्रम निर्माण गरी लागू गर्न पाउँछन् । सोहीअनुसार अहिले धमाधम पाठ्यक्रम निर्माण भइरहेका छन् । कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि १०० पूर्णाङ्कको स्थानीय विषयवस्तु वा मातृभाषा समेटेर पाठ्यक्रम बनाउनुपर्ने प्रावधान छ । सुर्खेतका नौ मध्ये आठ वटा स्थानीय तह पाठ्यक्रम निर्माणको प्रक्रियामा छन् । वीरेन्द्रनगर नगरपालिकाले भने पाठ्यक्रम निर्माण गरी चालु शैक्षिकसत्रदेखि लागू गरिसकेको छ ।

वीरेन्द्रनगरमा गएको असारबाट स्थानीय पाठ्यक्रम लागू भएको छ । नगरभित्रका सबै सामुुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भइसकेको नगरपालिकाका शिक्षा शाखा प्रमुख (उप–सचिव) धिरेन्द्रप्रसाद लम्सालले बताए । वीरेन्द्रनगरको विविधता झल्कने गरी कक्षा १, ३ र ६ का विद्यार्थीका लागि स्थानीय पाठ्यक्रम बनाइएको हो । यहाँ पाठ्यपुुस्तक निर्माण भने भइसकेको छैन । पाठ्यपुस्तक निर्माण र छपाइका कामहरू भइरहेको जनाइएको छ ।

‘आगामी शैक्षिकसत्रभित्र सबै विद्यार्थीहरूका हात–हातमा पाठ्यपुुस्तक पु¥याउने लक्ष्य छ,’ उपसचिव शर्माले भने । वीरेन्द्रनगरले सात वटा क्षेत्रलाई प्राथमिकतामा राखेर पाठ्यक्रम तयार पारेको छ । नगरपालिकाको भूूगोल, बाल संसार, खुुसीका लागि शिक्षा, वातावरण संरक्षण, हरित विद्यालय, हाम्रो सम्पदा, स्थानीय पेसा, व्यवसाय तथा प्रविधि र विपद् व्यवस्थापन जस्ता विषयवस्तु पाठ्यक्रममा समेटिएका छन् ।

पाठ्यक्रम निर्माणको प्रक्रियामा रहेका जिल्लाका अरु स्थानीय तहले आउँदो शैक्षिकसत्रदेखि लागू गर्नेगरी तयारी भइरहेको जनाएका छन् । स्थानीय पाठ्यक्रम बनाउन सुरु गरेका कतिपय पालिकामा दक्ष जनशक्ति र बजेटको भने अभाव देखिएको छ । लेकवेशी नगरपालिकाले बजेट अभावमा समयमै स्थानीय पाठ्यक्रम निर्माण गर्न नसकेको जनाएको छ । उक्त पालिकाले पाठ्यक्रम बनाउन प्रस्ताव पेश गरे पनि स्वीकृत हुुन नसकेपछि केही ढिलाइ हुने देखिएको छ । शिक्षा शाखा प्रमुुख पहलमान अधिकारीले आन्तरिक तयारी भइरहे पनि बजेटको समस्या रहेको जनाए । यस्तै, बराहताल गाउँपालिका पाठ्यक्रम निर्माणमा लागेको छ । सिम्ता गाउँपालिका पनि स्थानीय पाठ्यक्रम बनाउने प्रक्रिया अघि बढाइएको छ । यो पालिकामा त्यसका लागि विभिन्न समिति बनाएर आवश्यक कामहरू थालिएका हुन् । सिम्तामा आगामी शैक्षिक सत्रबाट कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरिएको छ ।

स्थानीय पाठ्यक्रम निर्माणकै क्रममा रहेको अर्को पालिका गुुर्भाकोट हो । त्यहाँ पाठ्यक्रम निर्माणका लागि अहिले विभिन्न विषयगत समितिहरूमा छलफल सुरु गरिएको छ । गुर्भाकोटले १७ वटा क्षेत्र समावेश गरेर स्थानीय पाठ्यपुस्तक बनाइने जनाएको छ । पर्यटन, कृषि, स्थानीय कला र संस्कृतिलगायतका क्षेत्रहरू समेट्दै पाठ्यक्रममा राखिने छ । ‘नयाँ शैक्षिक सत्रसम्म पाठ्यक्रम निर्माण सक्नेगरी काम थालिएका छन्,’ शिक्षा शाखा प्रमुख कर्णबहादुुर कँुवरले भने । पञ्चपुुरीले नगरको भूूगोल समेटेर पाठ्यक्रम निर्माण गरिरहेको छ । शिक्षा शाखा प्रमुख तुल्सी केसीका अनुसार नगरको हिउँदे अधिवेशनबाट बजेट व्यवस्थापन भएपछि कामले गति लिएको छ । ढिलोमा एक वर्षभित्र पाठ्यपुस्तक विद्यार्थीले पाउने उनले बताइन् । भेरीगंगा नगरपालिकाले पनि पाठ्यक्रम निर्माणको कामलाई तीव्रता दिएको जनाएको छ । चौकुुने र चिङ्गाड गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माणकै प्रक्रियामा छन् । चिङ्गाडमा त्यसका लागि ६ लाख बजेट छुट्याइएको छ । यी दुवै पालिकामा स्थानीय पाठ्यक्रमको मस्यौदा तयार भइ सुुझाव संकलनका काम भइरहेका छन् ।

पाठ्यक्रम विकास केन्द्रको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार स्थानीय आवश्यकतामा आधारित शिक्षा प्रदान गर्न पाठ्यक्रम तयार पार्नुपर्ने भनिएको छ । जसअन्तर्गत स्थानीय तहमा अनुकूल हुने विषयहरू समेटेर पाठ्यपुस्तक बनाउनुपर्ने हुन्छ । पाठ्यक्रमको प्रारूपमा मातृभाषिक पक्षहरू, रोजगारी तथा स्वरोजगारीका लागि शिक्षा, पाठ्यक्रममा समावेशी पद्धति, वैकल्पिक तथा खुल्ला शिक्षा, शिक्षामा जीवनउपयोगी सीप लगायतका विषयवस्तु समावेश गरिएका छन् । स्थानीय तहले पाठ्यक्रम निर्माणमा लामो समय लगाउँदा पठनपाठनमा भने समस्या भइरहेको शिक्षकहरूको गुनासो छ । उक्त विषयको साटो के पठनपाठन गराउने भन्ने अन्योल रहेको उनीहरूले बताउने गरेका हुन् । अधिकांश विद्यालयले स्थानीय पाठ्यक्रमका रूपमा अहिले पनि ऐच्छिक अंग्रेजी र कम्प्युटरजस्ता विषय पढाइरहेका छन् । केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय भूगोल, संस्कृति र जनजीवनजस्ता पक्षलाई समेट्न नसक्ने ठहर गर्दै स्थानीय पाठ्यक्रमको अवधारणा ल्याइएको हो ।

प्रकाशित मितिः   १६ फाल्गुन २०७८, सोमबार ०५:०५