एमालेको निर्वाचन लक्षित प्रशिक्षण
सुर्खेत: नेकपा (एमाले) ले वैशाखमा तोकिएको स्थानीय तहको चुनावलाई केन्द्रित गरेर कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गरेको छ । केन्द्रीय स्कुल विभाग, स्थानीय तह विभाग र निर्वाचन विभागको आयोजनामा वीरेन्द्रनगरमा शनिवारदेखि अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु भएको हो । प्रदेशस्तरीय प्रशिक्षणमा एमालेका केन्द्रीय सदस्यहरू, प्रदेश र जिल्लाका पदाधिकारी, विभाग प्रमुख, प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरूको उपस्थिति रहेको छ । त्यस्तै, गाउँ र नगर कमिटीका अध्यक्ष, स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी दुई सय बढी प्रतिनिधि सहभागि छन् ।
प्रशिक्षण भेलाको उद्घाटन गर्दै एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले आगामी निर्वाचनहरूमा बहुमत ल्याउने गरी तयारीमा लाग्न निर्देशन दिए । उनले नेपाली राजनीतिमा केही दिनमै नयाँ ध्रुविकरण हुने समेत बताए । ‘एमसीसी परियोजना संसद्बाट पारित गर्ने विषयले राष्ट्रिय राजनीतिमा उथलपुथल हुने देखिएको छ,’ उनले भने । एमालेका माग पूरा नभएसम्म संसदीय प्रक्रियामा भने भाग नलिने थापाले बताए । कारबाही गरिएका १४ जना सांसदहरूलाई नहटाएसम्म संसदीय प्रक्रियामा एमाले सहभागी नहुने अडान कायमै रहेको उनले स्पष्ट पारेका हुन् । कारबाही गरेका सांसद हटाउनुपर्ने माग पूरा नभएसम्म एमसीसीका बारेमा एमालेले नसोच्ने नेता थापाको भनाइ छ । उनले अहिलेको सत्ता गठबन्धनलाई प्रतिक्रयावादी र अवसरवादीको संज्ञा दिए । ‘एमालेको नेतृत्वमा मात्र मुलुकमा समृद्धि सम्भव छ,’ थापाले भने । दुईदिने प्रदेशस्तरीय प्रशिक्षण भेला आज (आइतवार) सम्म चल्ल्ने छ ।
प्रकाशित मितिः १५ फाल्गुन २०७८, आईतवार ०५:०१
साझा बिसौनी ।