भूमिहीनले मागे जग्गाको स्वामित्व
सुर्खेत: वीरेन्द्रनगरमा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन नागरिकहरूले लालपुर्जाको माग गरेका छन् । अन्य जिल्लाबाट बसाइँसराइ गरी वर्षाैंदेखि वीरेन्द्रनगरमा बस्दै आएका उनीहरूले लालपुर्जाका लागि राष्ट्रिय भूमि आयोगको सुर्खेत कार्यालय समक्ष माग गरेका हुन् । भूमिहीन पठान टोल खाद्य अधिकार समूहले शुक्रवार आयोगको कार्यालयमा पुगेर भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा पाउनुपर्ने माग राखेका छन् । भूमिहीन पठान टोल खाद्य अधिकार समूहका अध्यक्ष रनेबहादुर सुनारले लामो समयदेखि जग्गाको लालपुर्जा र स्वामित्व नहुँदा खाद्य अधिकारबाट समेत आफूहरू वञ्चित भएको बताए । उनले लालपुर्जा दिलाउन आयोग समक्ष माग पत्र बुझाइएको जनाए ।
उनका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० मा पुर्जाविहीन एक सय १८ घरधुरीको चार सय ५० कठ्ठा जग्गा रहेको छ । यहाँ सात सय ३३ जनाको बसोबास छ । भोगचलन गर्दै आएको जग्गाको स्वामित्वका लागि उनीहरूले माग गरेका हुन् । पठान र शान्ति टोलमा हाल पुर्जाविहीन दलितका ८५, जनजातिका १० र अन्य जातिका २३ घरधुरी छन् । जग्गाको लालपुर्जा नहुँदा सरकारी सेवा लिनबाट समेत वञ्चित हुनुपरेको अध्यक्ष सुनारको गुनासो छ । भोगचलन गर्दै आएको जग्गा आयोगको मापदण्डअनुसार उपलब्ध गराउनु पर्ने र छुटेका घरधुरीलाई समेट्नु पर्ने आफूहरूको माग रहेको उनी बताउँछन् ।
पठान र शान्ति टोलका सीमान्तकृत समुदायहरूको स्वास्थ जीवनयापनका क्षेत्रमा फियान नेपाल संस्थाले काम गर्दै आएको छ । पोषणयुक्त खाद्य अधिकार सुनिश्चितताको लागि समान हक, अधिकार तथा अवसरमा पहुँच स्थापित गर्ने काममा उक्त बस्तीलाई फियानले सहयोग गरिरहेको हो । फियानका कर्णाली संयोजक प्रकाश नेगीले ५४ वर्षदेखि बसोबास गर्दै आएका उनीहरूको आवाज सरोकारवाला निकायसम्म पु¥याउन सहयोग गरिरहेको बताए । ज्ञापन पत्र बुझ्दै राष्ट्रिय भूमि आयोग सुर्खेत अध्यक्ष श्रीधर पौड्यालले यी समस्या जिल्लाबाट सम्बोधन हुन नसक्ने भएकाले केन्द्रलाई जानकारी गराउने बताएका छन् ।
प्रकाशित मितिः १४ फाल्गुन २०७८, शनिबार ०५:०१
साझा बिसौनी ।