बेवारिसे चौपायाले बाली नोक्सान

सुर्खेत: वीरेन्द्रनगरमा बेवारिसे पशु–चौपायाले अन्न बालीमा क्षति पु¥याएका छन् । नगरपालिकाले पशु–चौपायाको व्यवस्थापनमा बेवास्ता गर्दा किसानलाई खेती जोगाउनै मुस्किल भएको छ । सडकमा छाडिएका गाई–गोरुले आफूले लगाएका गहुँ, तरकारीलगायतका बालीमा ठूलो नोक्सानी पुर्‍याएको किसानहरूको गुनासो छ । गाई–गोरुको बथान नै बालीमा पसेर सखाप पार्न थालेपछि हैरानीमा परेको वीरेन्द्रनगर–११ का किसान यामबहादुर खड्काले बताए । उनले ठूलो क्षेत्रफलमा लगाएको गहुँबाली पशु–चौपायाले नष्ट गरेका छन् । ‘रातदिन गाई–गोरु धपाउने काम मात्र हुन थाल्यो,’ खड्काले भने, ‘नगर र वडामा बारम्बार आग्रह गरियो, कतैबाट सुनुवाइ भएन ।’

बेवारिसे चौपायाले सास्ती दिन थालेपछि उनीसहित तीन जना किसानले मंगलवार झन्डै एकसय गाइगोरु धपाउँदै गिरीघाट पु¥याएका छन् । ‘छाडा चौयायाले बाली केही राखेनन्, यीनलाई गिरीघाटतिर लगेर छाड्दै छौं,’ गाई–गोरुसँगै मंगलगढीचोकमा भेटिएका वीरेन्द्रनगर–११ का पदमलाल चपाईंले भने ।

वीरेन्द्रनगरका सडकमा बेवारिसे अवस्थामा सयौं पशु–चौपाया छन् । त्यसको व्यवस्थापन गर्न नगरपालिकाले बर्सेनि बजेट विनियोजन गर्दै आएको छ । तर, समस्या भने घट्नुको साटो झन्–झन् बढ्दो छ । नगरले पशु–चौपाया व्यवस्थापनको प्रयास गरेपनि दिगो समाधान दिन सकेको छैन । वीरेन्द्रनगरका सडकमा बेवारिसे पशु–चौपायाको संख्या बढ्दै जाँदा दुर्घटनाको जोखिमसमेत उच्च छ । चौपायाका कारण बजार क्षेत्र अव्यवस्थित बनेको हो ।

प्रकाशित मितिः   ११ फाल्गुन २०७८, बुधबार ०५:०२