प्रदेश लोकसेवा आयोगको परीक्षा स्थगित

कर्णाली प्रदेश लोकसेवा आयोगले लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमवार एक विज्ञप्ति जारी गर्दै परीक्षा स्थगित गरेको जानकारी दिएको हो ।

फागुन १४ देखि चैत २६ गतेसम्म  सञ्चालन हुने गरी पूर्वनिर्धारित प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवाको पाँचौं तहका प्राविधिक तथा अप्राविधिक पदहरुको लिखित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रदेश लोकसेवा आयोगले पहिलोपटक कर्मचारी पदपूर्तिका लागि विज्ञापन खुलाएको थियो । प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिक र अप्राविधिकतर्फ तीन सयभन्दा बढी पदका लागि गत पुस २७ गते लिखित परीक्षाको विज्ञापन गरिएको थियो ।

आयोगले खुलाएको विज्ञापनविरुद्व सर्वोच्च अदालतमा रिट परेपछि तत्कालका लागि परीक्षा स्थगित गरिएको आयोगका शाखा अधिकृत प्रेमप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश लोकसेवाले विज्ञापनमा थारू समुदायलाई आरक्षण नदिएको भन्दै थारु कल्याणकारिणी सभा र अधिवक्ता श्रवणकुमार चौधरीले सर्वोच्चमा रिट दर्ता गराएका थिए । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले परीक्षा सञ्चालन नगरी यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको हो ।

अदालतको उक्त आदेशपछि आयोगले परीक्षा स्थगित गरेको छ ।

प्रकाशित मितिः   ९ फाल्गुन २०७८, सोमबार १८:०६