मानव अधिकार एलाइन्स सुर्खेतको अध्यक्षमा कंडेल

सुर्खेत: राष्ट्रिय मानव अधिकारी तथा सामाजिक न्याय मञ्च, मानव अधिकार एलाइन्स नेपाल सुर्खेतको अध्यक्षमा भूपेन्द्रप्रसाद कंडेल चयन भएका छन् । आइतवार पाँचौ जिल्ला अधिवेशनबाट कंडेलको नेतृत्वमा नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्षमा सपना परियार र सचिवमा रेशम चन्द रहेका छन् । त्यस्तै, कोषाध्यक्षमा निशा पौडेल र सहसचिवमा शहबीर सुनार चयन भएका छन् । समितिको सदस्यमा चिन्तामणि शर्मा, उमाशंकर आचार्य, चम्पा विक र विन्दुलाल रेग्मी छन् ।

जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेकपा (एमाले) सुर्खेतका उपाध्यक्ष कुलमणि देवकोटाले मौलिक हक अन्तर्गत सूनिश्चित गरिएका नागरिकका अधिकार कार्यान्वयनका लागि एलाइन्सले पैरवी गर्नुपर्ने बताए । मानव अधिकार उल्लङ्घनका घटनाका दोषीहरू राज्य शक्तिको आडमा उम्किने गरेकाले त्यसविरुद्ध खबरदारी आवश्यक रहेको देवकोटाले जनाए । कार्यक्रममा नेकपा एमाले सुर्खेतका सचिवालय सदस्य एवम् सामाजिक विभाग प्रमुख पूर्णप्रसाद पौडेलले मानव अधिकार संरक्षण एवम् प्रवद्र्धनमा एलाइन्सले विगतमा नेतृत्वदायी भूमिका खेलेको भन्दै त्यसको निरन्तरतामा जोड दिन सुझाए । यस्तै, एलाइन्सका केन्द्रीय उपाध्यक्ष सुरेशकुमार गौतमले मानव अधिकारको संरक्षणका लागि एलाइन्स सक्रिय भएर लाग्ने बताए ।

प्रकाशित मितिः   ९ फाल्गुन २०७८, सोमबार ०५:०२