विश्वकप छनोटमा नेपालको विजयी सुरुवात
आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रवार नेपालले ओमानलाई ३९ रनले पराजित गरेको हो ।
ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १७ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा सामान्य मानिएको एक सय १८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभर ७८ मात्रै बनाउन सक्यो ।
ओमानलाई सस्तैमा समेट्न नेपालका लागि लगभग सबै बलरले किफायती बलिङ गरे । कमलसिंह ऐरीले आफ्नो कोटाको पूरा ४ ओभर बलिङ गरेर सर्वाधिक ३ विकेट लिन १५ रन मात्रै खर्चिए ।
यस्तै, दीपेन्दसिंह ऐरीले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिए । कप्तान सन्दीप लामिछानेले पनि समान चार ओभरमा २० खर्चेर एक विकेट लिँदा जितेन्द्र मुखिया र अविनाश बोहराले एक-एक विकेट लिए ।
ओमानका लागि विकेटकिपर–ब्याटर नशीम खुशीले सर्वाधिक २४ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । नशीमले १८ बलमा एक चौका र दुई छक्कासमेत प्रहार गरेका थिए ।
ओमानका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पहिलो इनिङमा ब्याटिङ गरेको नेपालका लागि मध्यक्रममा ब्याटर आरिफ शेखले ३८ रन बाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेखनीय रहेन । आरिफले ३७ बलमा दुई चौकासमेत प्रहार गरेका थिए ।
नेपालले २.४ ओभरमा दुवै ओपनरलाई गुमाइसकेको थियो । त्यसपछि साझेदारी कायम गर्न नसक्दा नेपालले ठूलो योगफल बनाउन सकेको थिएन । यद्यपि, बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै छनोटको उत्कृष्ट सुरआत गर्न नेपाल सफल भयो ।
नेपालले छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा शनिवार फिलिपिन्सको सामना गर्नेछ ।
प्रकाशित मितिः ६ फाल्गुन २०७८, शुक्रबार १६:१३
साझा बिसौनी ।