कक्षा १० को परीक्षा केन्द्र निर्धारण (परीक्षा केन्द्रसहित)

जिल्ला शिक्षा कार्यालय सुर्खेतले शैक्षिक सत्र २०७४ को लागि नयाँ विद्यालय खोल्न अनुमति नदिने निर्णय गरेको छ । कार्यालयले बरु विद्यार्थी संख्या कम भएका विद्यालयहरूलाई समायोजन गर्ने योजना अघि सारेको छ । कपितय विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएकोले नजिकका पायक पर्ने विद्यालयसँग गाभ्नुपर्ने अवस्था रहेको कार्यालयले जनाएको छ । कतिपय विद्यालय भने बन्द नै गर्नुपर्ने अवस्था समेत रहेको जनाइएको छ ।

त्यसैगरी केही विद्यालय शिक्षक दरबन्दीविना नै सञ्चालन भएका छन् । त्यस्ता विद्यालयमा तत्काल दरबन्दी दिन नसकिने भएपछि नयाँ विद्यालयका लागि अनुमति दिन नसकिने कार्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालयले गरेको निर्णय अनुसार सुर्खेत जिल्लाका सामुदायिक र संस्थागत कुनै पनि विद्यालयहरूले कक्षा १ कक्षा ६ र कक्षा ९ सञ्चालनका लागि यो वर्ष अनुमति पाउने छैनन् ।

यसैबीच आगामी चैत्रमा सञ्चालन हुने कक्षा १० को विद्यालय शिक्षा परीक्षाको केन्द्र निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवम् कक्षा १० को विद्यालय शिक्षा परीक्षा समन्वय समितिका अध्यक्ष महादेव पन्थको अध्यक्षतामा सम्पन्न विद्यालय शिक्षा परीक्षा समितिको बैठकले ३० वटा परीक्षा केन्द्र तोकेको हो । परीक्षा आगामी चैत्र ३ गतेदेखि सञ्चालन हुनेछ ।

विद्यालय शिक्षा परीक्षाका लागि परीक्षार्थीहरूको सुविधालाई मध्यजनर राख्दै गतवर्षको भन्दा यस वर्षका परीक्षार्थी संख्या भने घटेका छन् । तर परीक्षा केन्द्र भने नघटाइएको जिल्ला शिक्षा कार्यालय सुर्खेतका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले जानकारी दिए । गतवर्ष यमिततर्फ सात हजार दुई सय ९६ र एक्जेम्टेडतर्फ चार हजार ३१ गरी ११ हजार तीन सय २७ ले एसएलसी परीक्षाका लागि आवेदन फारम भरेका थिए । तर यो वर्ष विद्यालय शिक्षा परीक्षाका लागि नियमिततर्फ सात हजार तीन सय १४ र एक्जेम्टेडतर्फ दुई सय ८८ र ग्रेड वृद्धितर्फ एक हजार नौ सय सात गरी नौ हजार पाँचसय पाँच जना परीक्षार्थीहरूले आवेदन फाराम भरेको जिशिअ शाहको भनाइ छ । यसवर्ष सबैभन्दा बढी परीक्षार्थी हुने परीक्षा केन्द्र अमरज्योति माध्यमिक विद्यालय नेवारेमा रहेको छ । यो विद्यालयमा चार सय ८२ जना परीक्षार्थी रहेका छन् भने सबैभन्दा कम परीक्षार्थी जगन्नाथ माध्यमिक विद्यालय बिजौराबाट दुई सय १६ परीक्षार्थीहरू सहभागी हुँदै छन् । विद्यालय शिक्षा परीक्षाको रूपमा पहिलो पटक सञ्चालन हुन थालेको कक्षा १० को परीक्षामा सुर्खेत जिल्लाबाट सबैभन्दा बढी तीन सय ८१ जना परीक्षार्थी जन माध्यमिक विद्यालय वीरेन्द्रनगर र सबैभन्दा कम चार जना परीक्षार्थी सोसियल एकेडेमी भैरवस्थान वीरेन्द्रनगरले समावेश गराउँदैछन् ।

प्रकाशित मितिः   ८ पुष २०७३, शुक्रबार १७:४८