कांग्रेसभित्रैबाट मुख्यमन्त्रीको आलोचना, मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्टि
कर्णालीमा नेपाली कांग्रेस नेतृत्वको सरकार छ, मुख्यमन्त्री छन् सोही पार्टीकै संसदीय दलका नेता जीवनबहादुर शाही । उनी मुख्यमन्त्री भएको तीन महिनापछि सरकारले पूर्णता पायो । त्यति मात्रै होइन कांग्रेसले गठबन्धनमा पूर्वसहमति गरिएभन्दा बढी मन्त्रालय समेत पाएको छ । तर यो मन्त्रिपरिषद् विस्तार कांग्रेसकै कतिपय नेता-कार्यकर्ताहरुलाई भने मन परेको छैन । आफ्नै पार्टी नेतृत्वको सरकार र मुख्यमन्त्रीसँग उनीहरु असन्तुष्ट बनेका छन् । असन्तुष्ट बनेका मात्रै छैनन्, सार्वजनिक रुपमै मुख्यमन्त्री शाहीको आलोचना समेत गर्न थालेका छन् ।
कर्णालीकै कांग्रेस नेता भुपेन्द्रजंग शाहीले फेसबुकमा लेखेका छन्, ‘कर्णाली प्रदेश सरकार विस्तारमा समावेशीता विपरित, विवादास्पद छविलाई पुरस्कृत, एकपक्षीय, गुटगत र पार्टीको आन्तरिक एकताविरुद्ध छ ।’
मन्त्रीपरिषद् विस्तारको विषय अहिले चौतर्फी चर्चा र आलोचनाको विषय बनेको छ । खासगरी फौजदारी अभियोग लागेका गैरसांसद छिरिङ डुम्डुल लामालाई मन्त्री बनाइएको र महिला तथा दलित सहभागितालाई पूर्ण रुपमा बेवास्ता गरिएकोबारे सरकार र गठबन्धन दलको आलोचना भइरहेको छ । कांग्रेस नेता शाहीले भने यी दुई विषय मात्रै उठाएका छैनन्, पार्टीभित्रको एकपक्षीय र गुटगत निर्णय भएकोतर्फ पनि आपत्ति जनाएका छन् ।
शाही कांग्रेसभित्र शेखर कोइराला समूहका नेता हुन् । प्रदेश सरकारमा कांग्रेसले २ जना मन्त्री थप गर्दा उक्त पक्षलाई समेटेको छैन । मुख्यमन्त्रीसहित कांग्रेसबाट सरकारमा सहभागी तीनै जना शेरबहादुर देउवा समूहका हुन् । नेता शाहीले यसलाई गुटगत र एकपक्षीय निर्णय भनेका छन् ।
उनले थप लेखेका छन्, ‘प्रदेश कार्यसमिति र पार्टिको साझा भावानालाई अवमूल्यन गरि एकलौटी नियुक्ति गर्नु बिधि, विधान, संविधानको भावना तथा संघीयताको मर्म विपरित चरम एकपक्षीय छ । यसले गर्दा नराम्रो सन्देश गएको छ।’
त्यति मात्र हैन यसको प्रत्यक्ष प्रभाव आगामी निर्वाचनमा समेत पर्ने चेतावनी शाहीले दिएका छन् । उनी थप लेख्छन्, ‘आगामी तिनै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन एकताबद्ध भएर अगाडि बढ्नपर्नेमा उल्टै एकलौटी ढङ्गले हिँड्दा कांग्रेस जित्ने बलियो आधारमा निर्मम प्रहार गरेको छ ।’
यस्तै सुर्खेतका कांग्रेस नेता नारायण कोइरालाले पनि सोही विषयलाई सामाजिक सञ्जाल फेसबुकमार्फत उठाएका छन् । कोइरालाले लेखेका छन्, ‘समावेसी, सुशासन, उत्तरदायी, जिम्मेवार र पारदर्शीता हुने भएकोले लोकतान्त्रीक व्यjस्थामा दिगो विकास सम्भव हुन्छ भन्ने मान्यता राखिन्छ । तर कर्णाली प्रदेश सरकार विस्तारमा यि आधारभुत मान्यता विपरित विवादास्पद छवीका गैरसांसदलाई मन्त्री बनाउने र समावेशीताको मर्मलाई स्वीकार नगरिएको देखिन्छ ।’
सँगसँगै उनले कांग्रेसबाट मन्त्री छनोटको विषयलाई पनि आलोचना गरेका छन् । लेख्छन्, ‘अर्कोतिर पार्टीको गुटगत एक पक्षीय पक्षपोषण गरिएको पाईन्छ, जुन आन्तरिक एकताविरुद्व छ । यसले आम जनता र पार्टीका कार्यकर्तामा सरकारप्रति नकारात्मक सन्देश जाने देखिन्छ ।’
पार्टीले कोइराला समूहलाई सरकारमा सहभागी नबनाएपछि उक्त पक्ष असन्तुष्ट बनेको छ । खासगरी मुख्यमन्त्री जीवनबहादुर शाही र पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टीभित्रकै अर्को पक्षलाई बेवास्ता गरेर मनपरी रुपमा प्रदेश सरकार सञ्चालन तथा मन्त्री छनोट गरेको आरोप सो समूहका नेताहरुले लगाउने गरेका छन् ।
अघिल्लो सरकारमा दुई जना मन्त्री बनाउँदा कांग्रेसले दुवै समूहलाई समेटेको थियो । तर यसपटक मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउँदा भने देउवा समूहले एकलौटी गरेको छ । सोही समूहकै यज्ञबहादुर बुढाक्षेत्रीलाई दोहोर्याएर सामाजिक विकासमन्त्री बनाइएको छ भने हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् ।
प्रकाशित मितिः २५ माघ २०७८, मंगलवार १५:१०
साझा बिसौनी ।