आमाको हत्या आरोपमा पक्राउ

सुर्खेत: वीरेन्द्रनगर–२ खोलीगाउँमा आफ्नै आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ५७ वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले सोही ठाउँका ३० वर्षीय रमेशबहादुर थापालाई पक्राउ गरेको हो । रमेशले आमालाई शनिवार घर नजिकको खेतमा कुटपिट गरी घाइते बनाएको र आइतवार आमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनलाई बाँकेको कोहलपुरबाट प्रहरीले पक्राउ गरेको थियो ।

कुटपिट भएको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षक कनकबहादुर शाहीका नेतृत्वमा घटनास्थलमा अनुसन्धान टोली परिचालन गरेको थियो । प्रहरीले घटनास्थलमा मुचुल्का र पोष्टमार्टम समेतको प्रारम्भिक अनुसन्धान गरी शव छोरी चम्पा थापाको जिम्मा लगाएको जनाएको छ । नियन्त्रणमा लिइएका रमेशलाई सोमवार सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः   २५ माघ २०७८, मंगलवार ०५:०१