कोरोनाविरुद्धको खोप अभियान

कतै प्रभावित, कतै हानथाप

सुर्खेत: हिमपातका कारण कोरोना भाइरस ‐कोभिड–१९) विरुद्धको खोप अभियान प्रभावित भएको छ । हुम्लामा केही दिनयता लगातार हिमपात भएपछि खोप केन्द्रमा सेवाग्राही आएका छैनन् । बाक्लो हिमपातले जनजीवन प्रभावित भएकाले कोरोनाविरुद्धको खोप अभियान रोकिएको हो । ठाउँ–ठाउँमा छरिएर रहेका बस्तीसँगै सबै ठाउँमा बाक्लो हिउँ जमेर आवतजावत नै अवरुद्ध हुँदा खोप लगाउने सेवाग्राहीहरू खोप केन्द्रमा आउन नसक्दा समस्या भएको स्वासथय सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए । उनकाअनुसार हिमपातका कारण खोप लगाउन नसकिने र सेवाग्राही पनि खोप केन्द्रसम्म आउन नसक्ने अवस्था छ । ‘सहज परिस्थिति नभएकाले अहिलेलाई खोप अभियान स्थगित गरिएको छ,’ सिंहले भने ।

खार्पुनाथ–५ खर्पेलगाउँमा रहेको स्वास्थ्य चौकीले स्वास्थ्य चौकीमा आइ खोप लगाउन सूचना जारी गरेको छ । बाटो चिप्लो भएकाले जान नसकेको दोस्रो खोप लगाउन बाँकी रहेका खार्पुनाथ–५ ताक्लाका सौरे बोगटीले बताए । हिउँ पर्न रोकिएको भएपनि अत्यधिक जाडो बढेको र खोप केन्द्र पुग्न समस्या भइरहेको उनले बताए । हिमपातले नाम्खा र सिमकोट गाउँपालिकाका खार्पुनाथ, सर्केगाड र चंखेली गाउँपालिकाका केही अग्ला बस्ती तथा स्वास्थ्य संस्थामा हिमपातले खोप लगाउने कार्य बन्द भएको हो । चिसोले गर्दा खोप केन्द्रमा स्वास्थ्यकर्मी उपस्थित भएपनि हिउँको बाटोबाट सेवाग्राही कोही आउन नसक्ने भएकाले जिल्लाभरि कोरोनाविरुद्धको खोप लगाउने अभियान प्रभावित भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । हाल हुम्लामा खोप अभियान सञ्चालनका लागि दुई सय ५० भन्दा बढी स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम्सेविका परिचालन भएका छन् । त्यहाँ बालबालिकाका लागि मोडर्ना खोपको दोस्रो मात्रा, बुस्टर डोज र अन्य पहिलो र दोस्रो मात्राको खोप लगाउने कार्य सञ्चालन भएको भएपनि हिमपातका कारण यो कार्य प्रभावित भएको छ ।

हुम्लामा अभियान प्रभावित बनिरहेका बेला मुगुमा भने कोरोनाविरुद्धको खोप लगाउनेको हानथाप छ । जिल्ला स्वास्थ्य कार्यालयले मुगुका विभिन्न सामुदायिक विद्यालयमा खोप अभियान सुरु गरेपछि बालबालिकाहरूको भीड लाग्ने गरेको हो । कोरोना महामारीको बेवास्ता गर्दै विद्यालयहरूमा भिडभाड गरेर खोप लगाउन थालिएको छ । माघ १५ गतेदेखि जिल्लाभरिका प्रत्येक सामुदायिक विद्यालयमा १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप अभियान सञ्चालन भएको छ । खोपको पहिलो मात्रा लगाएका र दोस्रो डोज लगाउन आउने विद्यार्थीहरूले खोप सकिने भन्दै हानथाप गरेका हुन् । विद्यार्थीहरूमा एकातिर खोप लगाए कोरोनाबाट जोगिने र अर्कोतर्फ पढाइ सुरु हुन्छ कि भन्ने आशा रहेकाले हानथाप हुने गरेको स्थानीय शिक्षक कमल शाहीले बताए । उनका अनुसार गमगढीस्थित महाकाली माध्यमिक विद्यालयमा बिहीवार कोरोनाविरुद्धको खोप लगाउन बालबालिकाको ठूलो लाइन देखिएको थियो ।

विद्यालयमा कोरोनाविरुद्धको खोप लगाउन बालबालिका उत्साहित देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन दीपबहादुर रावलले बताए । मुगुमा दोस्रो मात्राको करिब आठ हजार डोज मोडर्ना खोप आइपुगेको छ । अहिलेसम्म झन्डै ६ हजार बालबालिकाले खोपको दोस्रो मात्रा लगाइसकेका छन् । छायाँनाथरारा नगरपालिकासहित सोरु, खत्याड र मुगुमकार्मारोङ गाउँपालिकामा खोप अभियानलाई तीव्रता दिइएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । घरघरमा महिला स्वास्थ्य स्वयम्सेविका खटाएर बालबालिकालाई खोप लगाउन आग्रह गरिएको स्वास्थ्य सेवा अधिकृत उमेश गौतमले बताए ।

प्रकाशित मितिः   २४ माघ २०७८, सोमबार ०५:०१