विद्युत लाइन विस्तारमा विवाद

सुर्खेत: कोहलपुर–सुर्खेत एक सय ३२ केभीए विद्युत लाइन विस्तारमा भेरीगंगा नगरपालिकाका स्थानीयहरूले आपत्ति जनाएका छन् । भेरीगंगा नगरपालिका–१० का स्थानीयहरूले आफूहरूलाई झुक्याएर गाउँ हुँदै विद्युत लाइन लैजान लागेको भन्दै उचित क्षतिपूर्तिको माग गरेका छन् । स्थानीयले संघर्ष समिति नै गठन गरेका छन् ।

एक सय ३२ केभीए प्रसारण आयोजनाले घर तथा जग्गा प्रभावित हुने भन्दै स्थानीयहरू आक्रोशित भएका हुन् । अनुमतिविना आफ्नो जग्गामा टावर राख्न लागिएको उनीहरूको गुनासो छ । आफूहरूको सहमतिविना आयोजना अघि बढे त्यसको डटेर सामाना गर्ने स्थानीय पूर्णबहादुर नेपालीले बताए । भेरीगंगा नगरपालिकामा एक सय २० घर टावर बनाउँदा प्रभावित हुने उनी बताउँछन् । ‘हामीले स्थानीयदेखि केन्द्रसम्म क्षतिपूर्तिका लागि धाउँदासमेत सुनुवाइ भएन । अहिले संर्घष समिति बनाएर अघि बढेका छौं । यो हाम्रो बाध्यता हो,’ पूर्णबहादुरले भने । आफूहरूले जग्गाको मूल्य निर्धारण गरेकाले सोहीअनुसार क्षतिपूर्ति दिनुपर्ने उनले जनाए ।

आयोजनाको स्थान र बाटो परिवर्तनका वैकल्पिक स्रोतका लागि विकल्पसमेत दिएको अर्का स्थानीय ललितबहादुर रोकायले बताए । उनका अनुसार प्रभावित क्षेत्रका बासिन्दाको चाहना पहिलो वैकल्पिक स्थानबाट आयोजनाले काम गरोस् भन्ने हो । रोकायले भने, ‘६ महिनादेखि आफूहरूको समस्या र मुआब्जाका लागि लागिपरेका छौं । हामी विकास विरोधी होइनौं । मागको उचित सुनुवाइ हुनुपर्छ ।’

आयोजनाका प्रोजेक्ट मेनेजर रवि चौधरीले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा चलनचल्तीको रेटअनुसार जग्गाको मुआब्जा दिइने र त्यसका लागि प्रभावित क्षेत्रका बासिन्दासँग छलफल भइरहेको बताए । ‘आयोजना निर्माणका लागि प्रक्रिया चलिरहेको बेला स्थानीयहरूले टावर सार्ने माग गर्नुभएको छ,’ उनले भने, ‘सर्वेदेखि ईआईएसमेत भइसकोले टावर सार्न सकिँदैन ।’ टावर कति वटा र कहाँ–कहाँ राख्ने भन्ने टुङ्गो लागेपछि कति परिवारले मुआब्जा पाउने भन्ने निश्चित हुने उनी बताउँछन् । टावरको बीच भागबाट दायाँ बायाँ नौ मिटरसम्मको जग्गा अधिकरण हुनेछ ।

प्रकाशित मितिः   २३ माघ २०७८, आईतवार १०:३७