वर्षासँगै भारी हिमपात
सुर्खेत: कर्णालीका अधिकांश जिल्लामा बिहीवार रातिदेखि भारी हिमपात भएको छ । दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पालगायतका जिल्लामा भारी हिमपात भएको हो । त्यस्तै, सुर्खेतका केही भू–भागमा पनि हिउँ परेको छ । हिमपातले चिसो अत्याधिक बढेको छ । हिउँ परेपछि जनजीवन कस्टकर बन्नुका साथै यातायात अवरुद्ध भएको छ । यी जिल्लाहरूमा बिहीवार बिहानैदेखि वर्षासँगै हिमपात सुरु भएको थियो । दैलेखको गुराँस गाउँपालिकाको गुराँसे क्षेत्र, रानीमत्ता र सुर्खेतको सिद्धापाइलासम्म हिउँ परेको हो । गुराँसे क्षेत्रमा भारी हिमपात हुँदा यातायात सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ । हिमपातले दैलेख–सुर्खेत यायातात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद साहले बताए ।
जनजीवन कष्टकर, यातायात अवरुद्ध
हिमपातका कारण पहाडी क्षेत्रका अग्ला भू–भागका रहेका बस्तीहरू सेताम्य देखिएका छन् । दैलेखको नारायण नगरपालिकास्थित जिल्ला सदरमुकामसहित भवानी तथा आसपासका क्षेत्रमा हिमपात भएको छ । जिल्ला सदरमुकाममा झन्डै १२ वर्षपछि सामान्य हिमपात भएको हो । यसअघि त्यहाँ वि.सं. २०६६ सालमा भारी हिमपात भएको थियो । जिल्लाका ११ वटै स्थानीय तहको उच्च भू–भागहरूमा भारी हिमपात भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । नौमूले गाउँपालिकाको तोली, बालुवाटार, चौराठा, सल्लेरी, भगवतीमाई गाउँपालिकाको रुम, मेहेल्तोली, जगनाथ, कट्टी, मन्घर, वडाभैरब, डुङ्गेश्वर गाउँपालिकाको लाँकुरी, अवलपराजुलको माथिल्लो भू–भाग तथा लाँलीकाडा, पिलाडी र घोडाबासलगायतका क्षेत्रमा बाक्लो हिउँ परेको हो ।
यस्तै, महाबु गाउँपालिकाको काशिकाँध, रानीवन, गैडाबाजमा बाक्लो हिउँ परेको छ । त्यस्तै, भैरबी गाउँपालिकाको कुसापानी, चामुण्डाविन्द्रासैनी नगरपालिकाको काफलमेला, चापागाउँ, ठाटीकाँध गाउँपालिकाको विशाला, हिमपाईला, बिजारे, तोलीजैसी, आठबीस नगरपालिकाको सिंहासैन, पिपलकोट तथा दुल्लू नगरपालिकाको मालिका क्षेत्रमा हिमपात भएको छ ।
प्रकाशित मितिः २२ माघ २०७८, शनिबार ०५:०१
साझा बिसौनी ।