सडक सुधार

भौगोलिक रूपमा पश्चिम सुर्खेत विकट छ । विकासका दृष्टिले पछि परेको छ । प्रदेश राजधानीकै जिल्ला भएपनि यहाँका धेरै ठाउँमा सडकको भरपर्दो सुविधा पुगेको छैन । विकासको प्रमुख आधार सडक नै गतिलो नहुँदा पश्चिम क्षेत्रको समग्र विकासमै बाधा भएको छ । यस क्षेत्रका धेरै स्थानमा सडक बनेकै छैनन् । भएका ठाउँमा पनि सहज रूपमा यातायातका साधन गुड्ने अवस्था छैन । नागरिकले दशकौँदेखि सडक सास्ती खेप्दै आएका छन् । यहाँका मुख्य सडकसमेत बर्खामा मात्र नभइ हिउँदमा पनि हिलाम्मे हुन्छन् । सडकको आवश्यक मर्मत–सम्भार नहुँदा नागरिकहरू बाह्रै महिना कष्टकर यात्रा गर्न बाध्य भएका हुन् । पश्चिमको सडक समस्या भने अहिलेको होइन, विगतदेखिकै हो । तीन दशक अघि जे थियो आज पनि अवस्था कुनै सुधार आएको छैन ।

निर्वाचनका बेला हरेक पार्टी र नेताहरूले यही सडकलाई चुनावी एजेण्डा बनाउँछन् । सडक सुधार गर्ने आश्वासन दिएरै भोट माग्छन् । त्यसपछि अर्को चुनावसम्म सडक सुधार–विस्तारको सवाल ओझेलमा पर्छ । झन्डै तीन दशकदेखि पश्चिममा यस्तै सडक राजनीति चलिरहेको छ । चुनावताका निकै चर्चा हुने सडकको स्तरोन्नति भने कहिल्यै हुँदैन । विकासको यो एजेण्डा चुनाव जितेपछि आश्वासनमा मात्र सीमित हुने गरेको छ । सडक सुविधा भरपर्दो नभएपछि अहिले पनि पश्चिम क्षेत्रका कतिपय स्थानबाट वीरेन्द्रनगर आउन एकदिन पुरै लाग्छ । नजिकैको दूरीमा पनि कच्ची र हिलाम्मे सडकले यात्रा निकै असहज हुने गरेको त्यस क्षेत्रका बासिन्दा बताउँछन् । सडकको मर्मत–सम्भार नहुँदा सधैँ कष्टकर यात्रा गर्नु परिरहेको छ । दशक पहिले खनिएका सडकको हालत अहिले पनि उस्तै छ । आवश्यक स्तरोन्नति नगरिँदा झन्–झन् जीर्ण बन्दै गएका छन् । ती सडकमा यात्रा गर्दा दुर्घटनाको जोखिमसमेत उत्तिकै रहेको छ । केही दिनयतादेखि बड्डिचौर–बेनिघाट सडक खण्डअन्तर्गत बड्डिचौरको खम्बागाडेमा पटक–पटक सडक अवरुद्ध हुने गरेको छ । उक्त सडक मर्मत नहुँदा यातायातका साधन सञ्चालनमा समस्या भएको छ ।

विकासका अन्य पूर्वाधार ओसार्ने मुख्य माध्यमकै बेहाल भएपछि यसले पश्चिम सुर्खेतको विकासलाई निकै पछाडि धकलेको छ । प्रदेश राजधानीको नजिकै भएपनि सडक पूर्वाधार भरपर्दो नभएकै कारण पश्चिम सुर्खेत दुर्गम छ । सडक सुधारमा तीनै तहका सरकारले चासो भने दिएको देखिदैन । भएका सडकको स्तरोन्नति, मर्मत र सुधार तथा आवश्यकताका आधारमा नयाँ सडक निर्माणमा तीनै तहका सरकारले विशेष ध्यान दिन जरुरी देखिन्छ ।

प्रकाशित मितिः   २१ माघ २०७८, शुक्रबार ०५:०३