कुष्ठरोग प्रभावितलाई राहत

सुर्खेत: कुष्ठरोगबाट प्रभावित तथा अपाङ्गता भएका व्यक्तिहरूलाई राहत वितरण गरिएको छ । ६९औं कृष्ठरोग दिवसको अवसर पारेर प्रदेश स्वास्थ्य सेवा निर्देशनालय र साइनिङ अस्पताल आइ.एन.एफ. सुर्खेतको संयुक्त आयोजनामा आइतवार राहत स्वरूप खाद्यान्न वितरण गरिएको हो ।

आइ.एन.एफ. सुर्खेतका गरिबी कोष मुल्याङ्कनकर्ता उदय हमालले वीरेन्द्रनगरका २० जनालाई राहत वितरण गरिएको जानकारी दिए । पछिल्लो समय कोभिडका कारण आर्थिक अभावमा रहेका कुष्ठरोग प्रभावित तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गरिएको बताए । उनका अनुसार चामल, तेल, चिनी, मसला, नुनलगायतका सामग्री वितरण गरिएको छ ।

आगामी दिनमा पञ्चपुरी नगरपालिका, लेकवेशी नगरपालिका र चौकुने गाउँपालिकाका २० जनालाई सहयोग गरिने हमालले जानकारी दिए । राहत वितरण कार्यक्रममा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रविन खड्काले कृष्ठरोग निवारणको चरणमा रहे पनि अझै कुष्ठरोगका बिरामी पत्ता लागेकोले ध्यान दिनुपर्ने बताए । उनले कुष्ठरोग निवारणसम्बन्धी जनचेतना जगाउन सरोकारवालाहरूको भूमिका महŒवपूर्ण रहेकोमा जोड दिए ।

कार्यालयका सूचना अधिकारी पदम केसीले कर्णालीमा पछिल्लो बिरामीको संख्या कम देखिएको बताए । उनले समयमै रोग पत्ता लगाएर नियमित रूपमा उपचार गरे पूर्णरूपमा निको हुने भएकाले समयमै सचेत भएर उपचार गर्नुपर्ने जनाए । कुष्ठरोगबाट प्रभावित व्यक्तिहरूको आत्मसम्मान हुनेगरी व्यवहार गर्नुपर्ने तर्कसमेत गरे ।

प्रकाशित मितिः   १७ माघ २०७८, सोमबार ०५:०१