…अनि सोशीलाले संसद् बैठक छोडेर हिँडिन् 

सुर्खेत – कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको तेस्रो बैठक आज(आइतवार) चल्दै थियो । सधैँ झैँ सुरुवातमा राष्ट्रिय गान बजाइयो । त्यसपछि सहिदहरुको सम्झनामा मौनधारण ।

मौनधारण लगत्तै सभामुख राजबहादुर शाहीले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का नेता यामलाल कंडेललाई बोल्ने समय दिए । कंडेलले बोल्नका लागि समय माग गरेका थिए ।

कंडेल आफ्ना कुरा राख्न रोष्टममा पुगे । उनले बोल्न सुरु गर्दै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सोशीला शाही कुर्चीबाट उठिन् । सभामुख शाहीले उनलाई आसनग्रहण गर्न अनुरोध गरे । तर उनी नबसेर उभिइरहिन् । रोष्टमबाट सांसद कंडेलले आफ्ना भनाइ राखे ।

कंडेल बोलिरहँदासम्म पनि शाही भने उभइरहेकी थिइन् । कंडेलले बोलिसके लगत्तै सभामुख शाहीले सोशीलालाई आफ्नो कुरा राख्न आग्रह गरे ।

सांसद शाहीले उभिएकै ठाउँबाट कुरा सुरु गरिन्, ‘यो गरिमामय हाउसमा हाम्रो दलले स्थान पाउने कि नपाउने सभामुख महोदय, म प्रश्न गर्न चाहन्छु ।’

शाहीले संसदभित्र आफू र आफुले प्रतिनिधित्व गर्ने दललाई स्थान र महत्व नदिइएको गुनासो गरिन् । सत्तापक्ष र प्रमुख प्रतिपक्षलाई मात्रै केन्द्रीत गरेर अर्को प्रतिपक्षमै रहेको दल राप्रपालाई बेवास्ता गरिएको उनको गुनासो थियो । उनले संसदभित्र आफूलाई बस्नका लागि उचित व्यवस्थापन नगरिएको बताइन् । बोल्नका लागि पनि पर्याप्त समय नदिएकोमा आक्रोश व्यक्त गरिन् ।

आफू सानो दलबाट एक्लो सांसद भएपनि सत्तापक्ष र प्रमुख प्रतिपक्षले गल्ती गर्दा खबरदारी गर्न सक्ने भएकाले संसदभित्र उचित महत्व र स्थान पाउनुपर्ने माग शाहीको थियो । ‘कि मलाई बाहिर गेटबाटै फिर्ता गराउनुपर्‍यो सभामुख महोदय, त्यहीँ बसौँला, आफ्ना कुरा त्यहीँ राखौँला, त्यहीबाट फिर्ता जाउँला’ उनले भनिन् ।

शाहीले आफ्ना कुरा राखिसकेपछि बस्नका लागि उचित व्यवस्थापन नभएसम्म बैठकमा सहभागि नहुने भन्दै बैठक छोडेर हिँडिन् ।

शाहीले बैठक छोडेर हिँडेपछि सभामुख शाहीले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

प्रकाशित मितिः   १६ माघ २०७८, आईतवार १५:१४