एमाले सुर्खेतको कार्यविभाजन : संगठन विभागमा देवकोटा, स्कूलमा पाण्डे र प्रचारमा तिमिल्सेना

सुर्खेत – नेकपा(एमाले) सुर्खेतले कार्यविभाजनको टुंगो लगाएको छ । शनिवार बसेको सचिवाल बैठकले विभिन्न विभाग, भुगोल र फाँटको जिम्मेवारी बाँडफाँट गरेको हो ।

जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुलाई विभिन्न जिम्मेवारी तोकिएको सचिव कविन्द्रकुमार केसीले जानकारी दिए । उनका अनुसार जिल्लाका नौ वटै पालिकाका इन्चार्ज र सहइन्चार्ज, ९९ वटै वडाका इन्चार्जलगायतका जिम्मेवारी दिइएको छ ।

जिल्ला कमिटी अध्यक्ष अमृतबहादुर बिसीलाई नेपाल बुद्धिजीवी परिषद् इन्चार्जको जिम्मेवारी तोकिएको छ भने संगठन विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष कुलमणि देवकोटाले पाएका छन् ।

यस्तै सचिव केसीलाई स्थानीय तह विभाग, उपसचिव घनश्याम पाण्डेलाई स्कुल विभाग प्रमुख तथा अनेरास्ववियूको इन्चार्जको जिम्मेवारी दिइएको हो । अर्का उपसचिव बलबहादुर नेपालीलाई गुर्भाकोट गाउँपालिका इन्चार्ज तोकिएको छ ।

यसैगरी सचिवालय सदस्यहरु गंगाराम तिमिल्सेनालाई प्रचार विभाग, हरिहरनाथ योगीलाई उत्पादन तथा सहकारी र पेशागत महासंघ, डम्मर तिवारीलाई आर्थिक विभाग र वीरेन्द्रनगर इन्चार्ज, पूर्ण पौडेललाई सामाजिक संघसंस्था विभागलगायतको जिम्मेवारी बाँडफाँट गरिएको उपसचिव घनश्याम पाण्डेले जानकारी दिए ।

तोकिएको जिम्मेवारीअनुसार इन्चार्ज र प्रमुखहरुले कार्ययोजना बनाएर जिल्ला कमिटिमा पेश गर्ने जनाइएको छ । त्यसपछि विभाग विस्तारलगायतका बाँकी काम गरिने छ ।

प्रकाशित मितिः   १५ माघ २०७८, शनिबार १९:४२