जेठमा स्थानीय निर्वाचन गर्न सहमति

सत्ता गठबन्धनका दलहरुबीच आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा गठबन्धनका सबै दलहरुले सहमति जनाएका हुन् । देउवाले शनिवार बिहानको बैठकमा उक्त प्रस्ताव गरेका थिए ।

त्यसबारे पार्टीभित्र आन्तरिक छलफल गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार साँझ कानुनविद्हरुसहित गठबन्धनको बैठक बसेको थियो । बैठकमा २०७९ सालको जेठमा स्थानीय निर्वाचन गर्ने सहमति भएको नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि गठबन्धनले असोजपछि मात्रै स्थानीय निर्वाचन गर्ने गरी छलफल चलाउँदै आएको थियो । तर, शनिवार बिहानमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल स्थानीय निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए । निर्वाचन आयोगले यसअघि नै वैशाखमा निर्वाचन गर्न मिति प्रस्ताव गरिसकेको छ ।

प्रकाशित मितिः   १५ माघ २०७८, शनिबार १९:०७