एबीसी र फ्रेण्डसीप जिल्ला लिगको फाइनलमा

सुर्खेत- सुर्खेत जिल्लास्तरीय एन्फा लिग फुटबलको उपाधिका लागि साविक विजेता एबीसी स्पोर्टस् क्लब र फ्रेण्डसीप स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

आइतवार भएको सेमीफाइनलमा शीरमोर युवा क्लबलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै एबीसी लगातार दोस्रो पटक जिल्ला लिगको उपाधि दाबेदार बनेको हो । यसअघि २०७४ मा भएको जिल्ला लिगको उपाधि एबीसीले नै जितेको थियो ।

उसले यसपटकको उपाधिका लागि सोमवार फ्रेण्डसीप क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

फ्रेण्डसीपले आइतवार नै भएको दोस्रो सेमीफाइनलमा बावियाचौर स्पोर्टस् क्लबलाई १-० ले पराजित गरेर एबीसीसँगको उपाधि प्रतिस्पर्धा पक्का गरेको हो ।

फाइनल खेल सोमवार दिउँसो २ बजे हुने आयोजक सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए । उनका अनुसार यसपटक लिगको आफ्नै ट्रफी तयार गरिएको छ । ट्रफीमा सुर्खेतको पहिचान झल्किने गरी काँक्रेविहारलाई समेटिएको छ ।

प्रकाशित मितिः   ९ माघ २०७८, आईतवार १९:३०