कोरोना संक्रमणको उकालो ग्राफ

सुर्खेत- १ माघमा कर्णाली प्रदेशभर चार जना कोरोना संक्रमित भेटिए । त्यसको भोलिपल्ट ५८ जना नयाँ संक्रमित फेला परे । यो क्रम त्यसयता निरन्तर बढेको बढ्यै छ ।

माघ लागेसँगै कर्णालीमा कोरोना संक्रमणको ग्राफ पनि उकालो लागेको छ । दैनिक संक्रमित बढ्दै गएका छन् । पछिल्लो एक सातामै एक हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि बढ्दै गएको छ । अहिले दैनिक रुपमा पीसीआर र एन्टिजेन विधिबाट स्वाब परीक्षण गर्ने गरिएको छ । शनिवार ६ सय ७१ जनामा परीक्षण गर्दा २ सय ८७ मा संक्रमण देखिएको छ । शुक्रवार यो संख्या अझ बढी थियो । उक्त दिन ३ सय १३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

पछिल्लो एक सातामा पुष्टि भएका संक्रमितको संख्या यस्तो छ :

आइतवार – ५८

सोमवार – ९३

मंगलवार – ९३

बुधवार – १८९

बिहीवार – १२५

शुक्रवार – ३१३

शनिवार – २८७

यो तथ्याङ्कले कर्णाली प्रदेशमा कोरोना संक्रमण बढ्दै गएको देखाउँछ । शनिवारसम्म प्रदेशभर सक्रिय संक्रमितको संख्या एक हजार दुई सय ७२ छ । यो संख्या हरेक दिन बढ्दो क्रममा छ ।

कर्णालीमा पुसको अन्तिमदेखि संक्रमण पुन: बढ्न थालेको हो । गत पुस २५ सम्म प्रदेशमा सक्रिय संक्रमितको संख्या ३० भन्दा न्यून थियो । २६ गते उक्त संख्या बढेर ६२ पुग्यो । त्यसयता निरन्तर बढ्दै गएको छ ।

कर्णालीमा हालसम्म ३ सय ८८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रकाशित मितिः   ८ माघ २०७८, शनिबार २१:५९