हप्तामा ६ दिन स्वाब संकलन

सुर्खेत: वीरेन्द्रनगरमा अब हप्तामा ६ दिन स्वाब संकलन गरिने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि नगरपालिकाले परीक्षणको दायरा पनि बढाउन लागेको हो ।

अबदेखि हरेक हप्ताको ६ दिन स्वाव संकलन हुने जनाइएको छ । नगरपालिकाले दैनिक कोरोना परीक्षणका लागि स्वाब संकलन समय बढाएको हो । यसअघि हप्ताको तीन दिन मात्रै संकलन हुने गरेको थियो । एन्टिजेन परीक्षण र पीसीआरका लागि स्वाब संकलन शनिवार बाहेक अन्य सबै दिन गर्ने निर्णय गरेको वीरेन्द्रनगरका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । उनले कोरोना सक्रमण दर ह्वात्तै बढेपछि नागरिकहरूलाई सहजताका लागि ६ दिन नै स्वाब संकलन गरिने बताइन् ।

‘कोरोनाका लक्षण देखिएका नगरवासीलाई नगरपालिकाबाट सेवा लिन अनुरोध गर्दछु,’ ढकालले भनिन्, ‘नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेकाले मास्कको अनिवार्य प्रयोग गर्ने र अत्यावश्यक कामबाहेक घरबाहिर नहिँड्न पनि आग्रह गर्दछु ।’ उनका अनुसार बिहीवारदेखि दिउँसो एक बजेबाट साँझ ४ बजेसम्म नगरपालिकाको जनस्वास्थ्य शाखाले स्वाब संकलन गर्नेगरी प्रबन्ध मिलाइएको छ ।

प्रकाशित मितिः   ६ माघ २०७८, बिहीबार ०५:०१