खोप केन्द्रमै हेलचक्य्राइँ

कर्णाली प्रदेशमा केही दिनयता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र बनेको छ । संक्रमण दर दैनिक बढ्दो क्रममा छ । परीक्षण गरिएकामध्ये करिब आधामा संक्रमण पुष्टि हुने गरेको छ । प्रदेशमा संक्रमणको तेस्रो लहर भित्रिसकेको छ । कोरोना संक्रमण दर ह्वातै बढेका बेला सरोकारवाला निकायले भने हेलचक्य्राइँ गरिरहेको पाइएको छ । जोखिम उच्च रहेकै समयमा प्रतिकार्यका लागि सेवा प्रवाह गर्ने निकायहरू व्यवस्थापनमा चुकेका हुन् । कोभिड संकटको सामना गर्न अग्रणी भूमिका खेल्नुपर्ने स्वास्थ्य संस्था र स्थानीय प्रशासनले त्यसअनुरूपको व्यवस्थापन तथा नियमन गर्न सकेका छैनन् । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्देशन पनि जारी गरिसकेको छ । तर त्यसको पनि प्रभावकारी रूपमा कार्यान्वयन भने हुन सकेको छैन ।

अहिले कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेका छन् । एकातर्फ यसअघि खोप नलगाएकालाई पहिलो मात्रा खोप दिने अभियान चलिरहेको छ भने सँगसँगै पहिलो डोज लगाएकालाई दोस्रो र दोस्रो पनि लगाइसकेका र अग्रपंतिमा खटिनेहरूलाई तेस्रो चरणको खोप लगाउन थालिएको छ । तर यसरी कोरोना नियन्त्रणका लागि लगाइने खोप अभियानमै भने हेलचक्य्राइँ भइरहेका दृष्य देखिएका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित विभिन्न खोप केन्द्रमा पुगेका सेवाग्राहीले जोखिम मोलेर खोप लगाउने गरेका छन् । खोपको ‘बुस्टर डोज’ लगाउन केन्द्रहरूमा पुगेका तथा स्वयम् स्वास्थ्यकर्मीहरूको समेत स्वास्थ्य सावधानीमा ख्याल गरिएको छैन । व्यक्तिगत स्वास्थ्य सुरक्षामा स्वास्थ्यकर्मीहरूले नै लापरबाही गरेका हुन् । अधिकांश खोप केन्द्रको व्यवस्थापन भद्रगोल हुँदा एकातिर संक्रमणको जोखिम देखिन्छ भने अर्कोतिर सेवा लिनै सास्ती छ । कोरोनाविरुद्धको खोपको थप मात्रा लगाउने अभियान सुर्खेतमा मात्र नभइ कर्णालीका सबैजसो जिल्लामा अव्यवस्थित छ । खोपस्थलमै भौतिक दूरी कायम गर्नेदेखि स्वास्थ्य सुरक्षाका अन्य मापदण्डको पालना हुन सकेको छैन । सतर्कता न्यून हुँदा खोप केन्द्रमै संक्रमणको त्रास हुने गरेको सेवाग्राहीहरूको गुनासो छ ।

खोप केन्द्रको लापरबाहीले त्यहीबाट संक्रमण फैलने उच्च जोखिम छ । भिड व्यवस्थापनबारे कुनै तयारीविनै खोप लगाइँदा अस्तव्यस्त भएको हो । महामारीको प्रवाह नै नगरी असावधानीका साथ भिड लाग्ने गरेको हो । जोखिमकाबीच खोप अभियान सञ्चालन भइरहेपनि त्यसको व्यवस्थापनबारे अनुगमन तथा नियमन गर्ने निकाय भने सक्रिय देखिएका छैनन् । स्वास्थ्यका मापदण्ड पालनामा बेवास्ता गरे भयावहस्थिति आउन सक्ने जोखिम भएकाले यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ । समयमै ध्यान दिइएन भने खोप केन्द्र नै कोरोना संक्रमणको केन्द्र बन्न सक्नेछन् ।

प्रकाशित मितिः   ६ माघ २०७८, बिहीबार ०५:०३