एक साताभित्र सहमति, वैशाखभित्र निर्वाचन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको एक साताभित्रै मुलुकको वर्तमान गतिरोध अन्त्यका लागि दलहरुबीच सहमति हुने दावी गरेका छन् । हुम्ला पुगेर फर्कने क्रममा सुर्खेत आइपुगेका दाहालले पत्रकार भेटघाटमा यस्तो दावी गरेका हुन् । उनले सहमतिको विकल्प नै नभएको भन्दै जतिसक्दो चाँडो सहमति हुने बताए ।

संविधान कार्यान्वयनका लागि सरकार गम्भिर रहेको भन्दै यसका लागि स्थानीय निर्वाचन गर्न सरकारले तयारी गरिरहेको बताए । आगामी वैशाखभित्र जसरी पनि चुनाव हुने उनले बताए । वैशाखको तेस्रो साताभित्रै स्थानीय तहको निर्वाचन हुने बताए । असन्तुष्ट पक्षलाई पनि सहमतिमा ल्याएर मुलुकलाई निकास दिइने प्रधानमन्त्री दाहालको भनाइ छ ।

संविधान कार्यान्वयनका लागि सबैको सहमति चाहिने भएकाले संशोधन प्रस्ताव ल्याइएको उनले जनाए । संविधान संशोधन गर्नै नमिल्ने केही कुरै नभएको भन्दै दाहालले एमालेलाई पनि संविधान संशोधनको पक्षमा आउन आग्रह गरे ।

प्रकाशित मितिः   ५ पुष २०७३, मंगलवार १७:०६