चीनसँग जोडियो ६ नम्बर प्रदेश

हुम्लाको हिल्सामा पुल निर्माणसँगै चीनको स्वशासित क्षेत्र तिब्बतसँग ६ नम्बर प्रदेशको सहज पहुँच भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार हुम्ला पुगेर चीन जोड्ने मोटरेबल पुलको उद्घाटन गरेका छन् ।

चीनले केही वर्षदेखि हिल्सामा पुल निर्माणमा सहयोग गर्न चासो देखाउँदै आएको थियो । पुल निर्माणमा चीनले सहयोग गर्ने सम्झौता भने अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा भएको थियो । सम्झौता गरेको दश महिनाभित्रै सात करोड ५० लाख रुपैयाँ लगानीमा निर्माण भएको हिल्सा पुलको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सरकारले मध्य र सुदुरपश्चिमको विकासलाई सबैभन्दा बढी प्राथमिकतामा राखेको बताए ।

हुम्लाका पूर्व सांसद कर्णजित बुढाथोकीले हिल्साको कर्णाली नदीमा मोटरेबल पुल संचालनमा आएसँगै हुम्लीलाई खुसी बनाएको बताए । स्थानीय बासिन्दाले उक्त नाका खोल्न सरकारसँग लामो समयदेखि माग गर्दै आएका थिए । ‘पुल उद्घाटनलाई महत्वपूर्ण उपलब्धीको रुपमा लिएका छौं,’ बुढाथोकीले भने, ‘हिन्दु धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल तिब्बतको मानसरोवर–कैलाश यात्राका लागि मात्र होइन, तिब्बतसँग जोडिएपछि अब व्यापार र विकासको दोहोरो बाटो खुल्ने छ । हुम्ला, बाजुरा र बझाङका बासिन्दाले वर्षायाममा पनि चीनसँग व्यापार गर्न सक्नेछन् ।’

हिल्साको पुल उद्घाटनसँगै मालबाहक गाडीहरू सिमापार गर्न थालेका छन् । चीनले नेपालको सीमा सेरासम्म सडक कालोपत्रे गरेको छ । सेरादेखि ३० किलोमिटर टाढा रहेको तिब्बतको ताक्लाकोट व्यापारिक केन्द्र हो । हुम्ला र दार्चुलाका बासिन्दाले लामो समयदेखि ताक्लाकोटबाट सामान खरिद गर्दै आएका छन् । नेपालतर्फको हिल्सा–सिमकोट ९५ किलोमिटर सडक निर्माण पूरा भए र चीनसँग इन्धन सम्झौता भएमा पेट्रोलियम पद्धार्थ र खाद्यान्न ल्याउन सहज हुने बुढाथोकी बताउँछन्। तिब्बतबाट इन्धन आयातबाट कर्णाली मात्र नभई सिंगो ६ नम्बर प्रदेशसहित पश्चिम नेपालमा आपूर्ति सहज हुने छ । चीनले नेपालसँगको यातायात सम्पर्कमा हिल्सा नाकालाई प्राथमिकतामा राखेको हुनाले यसको व्यापारिक महत्व बढेको हुम्ली पत्रकार दीपेन्द्र रोकयाले बताए। ‘यो नाकालाई राम्रोसँग सञ्चालन गरियो भने चीन हुँदै पाकिस्तान, अफगानिस्तान, टर्की भएर युरोपसम्म पनि पुग्न सकिन्छ’, उनले भने।

सरकारले कर्णाली कोरिडोरलाई दुई खण्डमा विभाजन गरेर काम अगाडि बढाइरहेको छ। कालिकोटको खुलालुदेखि हिल्सासम्म २ सय ९१ किलोमिटर लामो सडकमार्गलाई कर्णाली करिडोर नामकरण गरिएको छ । सिमकोट–हिल्सा खण्डको निर्माण सडक विभाग आफैले थालेको छ । सिमकोट–हिल्सा सडकखण्डका परियोजना व्यवस्थापक विजयकुमार थापाका अनुसार सडक विभागले हिल्सा–सिमकोटतिर धमाधम निर्माणकार्य अगाडि बढाएको छ ।

चीनसँग जोडिने ९५ किलोमिटरको सिमकोट–हिल्सा सडकका लागि सडक विभागले ८० किलोमिटर ट्रयाक खोलिसकेको छ । बाँकी १५ किलोमिटरमा काम हुँदैछ । ‘हिल्साबाट सिमकोटतर्फ ३५ किलोमिटर सडकमा अहिले ठूला गाडी पनि संचालन भएका छन् । कर्णाली नदीमा पुल निर्माण सम्पन्न भएपछि ७० किलोमिटर सडकमा गाडी गुड्छ’, थापाले भने, ‘निर्माण कार्य गतिमा छ । सिमकोटबाट दक्षिणको ५० किलोमिटर पनि सडक विभाले नै निर्माण गर्ने निर्णय भएको छ ।’

कर्णाली करिडोरको निर्मार्णाधीन सडकमध्ये कालिकोटको खुलालुदेखि सिमकोटसम्म १९६ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएकोमा त्यसैबाट सडक विभागले ५० किलोमिटर बनाउने भएको हो । सडक विभागले दिएको जानकारी अनुसार चीनसँग जोड्ने अन्य सडक दुई लेनको भएपनि हिल्सा नाका जोड्ने सडक भने मध्यम तहको हुनेछ । यो मार्गमा ४० किलोमिटर सडक बनाउन सडक विभागले ठेक्कासमेत दिइसकेको छ । चालू आर्थिक वर्षमा २० करोड रुपैयाँ विनियोजन भएको यो सडक ग्राभेल गर्न करिब साढे एक अर्ब लाग्ने अनुमान छ ।

आगामी दुई वर्ष्भित्र यो सडक ग्राभेल गरिसक्ने सरकारको लक्ष्य छ । तर म्यानेजर थापा भन्छन, ‘भारतको नाकाबन्दीको कारण गत वर्ष काम गर्न सकिएन । अहिले बाटो फराकिलो पार्ने र ट्रयाक खोल्ने काम हुँदैछ। त्यसपछि मात्र ग्राभेल गर्ने कुरा हुन्छ ।’ यद्यपी सरकारले कर्णाली कोरिडोरलाई राष्ट्रिय गौरबको योजनामा राखेर दुई वषभित्र कालोपत्रे गरिसक्ने लक्ष्य राखेको छ । हिल्सा नाका भएर बर्सेनी भारतीयलगायत हजारौं धार्मिक पर्यटक तिब्बतको कैलाश–मानसरोवर यात्रामा जाने गरेका छन्। गत वर्षको भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि हुम्ला हुँदै मानसरोवर जान चाहने भारतीय तीर्थयात्री बढेका छन् । हिल्सा नाका संचालनमा आएसँगै हुम्लामा पर्यटन व्यवसाय पनि फस्टाउने अपेक्षा गरिएको थापाले बताए ।

प्रकाशित मितिः   ६ पुष २०७३, बुधबार ११:५६