बावियाचौरको पहिलो जित, खोर्के र फ्रेण्डसीपको बराबरी
सुर्खेत – जिल्लास्तरीय एन्फा लिगमा बुधवार दुई वटा खेल सम्पन्न भएको छन् । लिगमा दोस्रो खेल खेल्दा बावियाचौर स्पोर्टस् क्लबले पहिलो जित हात पारेको छ । बुधवार वीरेन्द्रनगर स्पोर्टस् क्लबलाई ३–२ को अन्तरले पराजित गर्दै बावियाचौरले तीन अंक बटुल्न सफल भएको हो ।
खेलको पहिलो हाफमा १–० को अग्रता बनाएको वीरेन्द्रनगरले दोस्रो हाफमा तीन गोल खान पुग्यो । १३ औं मिनेटमा गोल गर्दै शिव थापाले वीरेन्द्रनगरलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा बावियाचौरले तीन गोल गरेर नतिजा आफ्नो पक्षमा पारेको हो । बावियाचौरको जितमा धनसिंह विकले ४३ र ४४ औं मिनेटमा लगातार दुई गोल गरे । थप एक गोल महेन्द्र विकले खेलको ५३ औं मिनेटमा गरेका थिए ।
६६ औं मिनेटमा वीरेन्द्रनगरका सम्राट कार्कीले एक गोल गरेपनि जितका लागि भने पर्याप्त हुन सकेन । यसअघि पहिलो खेलमा बावियाचौर पराजित भएको थियो । जितसहित उसले तीन अंक जोडेको छ । पहिलो खेलमा जीअल क्लबसँग बराबरी खेलेको वीरेन्द्रनगरको भने १ अंक मात्रै छ ।
बुधवार नै भएको अर्को खेलमा साथी खोर्के युवा क्लब र फ्रेण्डसिप क्लबले २–२ को बराबरी खेलेका छन् । दुवै टिमले पहिलो हाफमै २–२ गोल गरेका थिए । तर दोस्रो हाफमा दुवै टिमबाट गोल हुन नसकेपछि बराबरीसहित अंक बाँडेका छन् ।
खेल सुरु भएको नवौं मिनेटमा गोल गर्दै फ्रेण्डसिपका अर्जुन रावतले टिमलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेट बित्न नपाउँदै खोर्केका सुमन घर्तीले १० औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि १८ औं मिनेटमा दिपेन्द्र चुनाराले अर्को गोल गरेर फ्रेण्डसिपलाई पुनः २–१ को अवस्थामा पु¥याएका थिए । तर ४२ औं मिनेटमा खोर्केका मनोज बस्यालले गोल गर्दै टिमका लागि एक अंक खोस्न सफल भए । दोस्रो हाफमा दुवै टिमबाट गोल हुन नसकेपछि नतिजा बराबरीमा पुगेको हो । दुई खेल खेल्दा एक जित र एक बराबरीसहित दुवै टिमले अंकतालिकामा चार÷चार अंक जोडेका छन् ।
जिल्ला फुटबल संघको आयोजनामा वीरेन्द्रनगरस्थित शैनिक आवासीय विद्यालयको प्रांगणमा सञ्चालन भइरहेको जिल्ला लिग आगामी माघ १० गतेसम्म चल्ने संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए । लिग चरणका खेल माघ ८ गते सम्पन्न हुनेछन् । त्यसपछि नौ गते सेमिफाइनल र १० गते फाइनल हुने उनले जानकारी दिए ।
प्रकाशित मितिः २८ पुष २०७८, बुधबार १८:१९
साझा बिसौनी ।