कर्णालीमा डेढ सय करार स्वास्थ्यकर्मी थपिँदै

सुर्खेत – कर्णाली प्रदेशमा एक सय ५० जना स्वास्थ्यकर्मी करारमा नियुक्त गरिने भएको छ ।  सामाजिक विकास मन्त्रालयले स्वास्थ्यतर्फ सेवा करारमा कर्मचारी लिन विज्ञापन गरेको हो ।

मन्त्रालयले एक सय ५० जना चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि विज्ञापन गरेको छ । प्रदेश सरकारको पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सेवा करारमा कर्मचारी लिने निर्णय गरेको थियो । सोहीअनुसार मन्त्रालयले सूचना प्रकाशित गरेको हो । मन्त्रालय मातहतका अस्पताल र स्वास्थ्य सेवा कार्यालयमा रिक्त दरबन्दीमा पदपूर्ति गर्न विज्ञापन गरिएको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

लोकसेवा आयोगबाट पदपूर्तिका लागि स्थायी कर्मचारी सिफारिस भई आएमा स्वतः नरहने शर्त राखेर विज्ञापन गरिएको प्रवक्ता अधिकारीले बताए । उनका अनुसार सेवा करारका लागि १५ दिने अवधि राखेर सूचना प्रकाशित गरिएको छ ।

मन्त्रालयले नवौँ तहको चिकित्सकका लागि ५४, मेडिकल अधिकृत २० सहित आठौँ तहको २१, सातौँ तहका १६, स्टाफ नर्स ३८ सहित पाँचौँ तहको ५० र चौथो तहका नौ जना गरी एक सय ५० चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको छ । उनीहरुको पारिश्रमिक तथा सेवा शर्तहरु कर्णाली प्रदेश सरकारको नियमानुसार हुने जनाइएको छ ।

प्रकाशित मितिः   २८ पुष २०७८, बुधबार ०३:०५