एमाले सुर्खेतको नेतृत्वका लागि प्रतिस्पर्धामा बिसी र शर्मा

सुर्खेत – नेकपा(एमाले) सुर्खेतको आगामी नेतृत्वका लागि अमृतकुमार बिसी र डण्डीप्रसाद शर्माबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास गरिएपनि सहमति जुट्न नसकेपछि आठौं जिल्ला अधिवेशनले निर्वाचनमार्फत नयाँ नेतृत्व छान्दैछ ।

बिसी र शर्मा आ-आफ्नो प्यानलसहित निर्वाचनमा जाने तयारीमा जुटिसकेका छन् । सातौं जिल्ला अधिवेशनमा एउटै समूहबाट बिसी उपाध्यक्ष र शर्मा जिल्ला कमिटी सदस्य निर्वाचित भएका थिए । आठौं अधिवेशनमा आइपुग्दा भने उनीहरु एकअर्काको प्रतिस्पर्धी बनेका छन् ।

बिसीलाई एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलसहितको साथ छ भने शर्मालाई केन्द्रीय सदस्य एवम् सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतसहितको साथ रहेको जनाइएको छ । अघिल्लो अधिवेशनमा जिल्ला कमिटी अध्यक्षको उम्मेदवार बनेका रावत र कंडेल एकै ठाउँमा थिए । यसपटक पनि दुवैले आ-आफ्ना अलग उम्मेदवार बनाएका छन् ।

त्यसो त सातौ अधिवेशनको समिकरणमा यसपटक धेरै फेरबदल आइसकेको छ । उक्त अधिवेशनबाट अध्यक्ष बनेका ध्रुवकुमार शाही यतिबेला कंडेलको साथमा छन् । उनलाई सघाएका बिसी र शर्मा अध्यक्षको प्रतिस्पर्धामा उत्रिदा शाही बिसीको पक्षमा छन् ।

प्रकाशित मितिः   २५ पुष २०७८, आईतवार १६:५७