पाँच महिनामा ३७ जना गायव !
रोल्पामा गत साउनदेखि हालसम्म ३७ जना व्यक्ति हराई परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
यसरी हराउनेमा एकै परिवारका चार जनासम्म रहेको जिल्ला प्रहरी कार्यालयको महिला सेलकी इन्चार्ज दीलकुमारी बुढाले बताइन् । सानै उमेरमा ललाइफकाइ इँटाभट्टामा लैजाने, श्रीमान्ले मादकपदार्थ सेवन गरी कुटपिट गर्ने तथा भागेर विवाह गरी परिवारलाई जानकारी नदिएका कारण पनि हराएको तथ्याङ्क बढी देखिएको इन्चार्ज बुढामगरले बताइन्।
हराउनेमध्ये अधिकांश आर्थिक अवस्था कमजोर रहेका तथा जिल्लाको सीमा क्षेत्र पाखापानी, सखी, मसिना, जिनावाङ, मिरुललगायत गाविसको रहेको बताइएको छ ।
हराएकामध्ये २० पुरुष र १७ जना महिला रहेको तथा अधिकांश २० वर्ष माथिका रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । हराएकाको खोजी कार्य तीव्र पारिएको भए पनि हालसम्म पाँच जना मात्र फेला परेको प्रहरीले जनाएको छ । त्यसरी भेटिएकामध्ये चार बालबालिका र एक महिला रहेका छन् ।
अघिल्लो वर्ष जिल्लाबाट ८० जना हराएकोमा हालसम्म उनीहरुको अवस्था थाहा हुन सकेको छैन । सेतोपाटी/रासस
साझा बिसौनी ।