पीएम कपका लागि खेलाडी छनोट

सुर्खेत: काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशबाट खेलाडी छनोट गरिएको छ । कप्तान रविन्द्रजंग शाहीको नेतृत्वमा १४ जना खेलाडी छनोट गरिएको हो ।

टोलीमा प्रकाश जैसी, निश्चल रावल, दिवान पुन, अनुजकुमार चनारा, हिमान्सु शाही, दिनेश अधिकारी, विपिन रावल, हेमन्त ओली, अर्जुन घर्ती, राजप्रसाद शाह छनोट भएका छन् । यस्तै मनिष थापा, अनुप कुँवर, रूपक दाहाल पनि प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा खेल्नका लागि छनोट भएका छन् । टोली व्यवस्थापकमा रोशन शाही छन् भने कोचको जिम्मेवारी रविन्द्र शाहीलाई दिइएको छ ।

पुस २६ गतेबाट सुरु हुने प्रधानमन्त्री कपमा कर्णालीले पहिलो खेल त्रिभुवन आर्मी क्लबविरुद्ध खेल्ने भएको छ । बिहीवार सार्वजनिक खेल तालिकाअनुसार उद्घाटन खेलमा कर्णाली र आर्मी भिड्नेछन् ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । क्यानले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ रहेका छन् । यस्तै समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, प्रदेश नम्बर २, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिता पुस २६ गतेबाट माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।

पीएम कप यस पटक टी–ट्वान्टी फम्र्याटमा हुन लागेको हो । यस अघि एकदिवसीय फम्र्याटमा हुँदै आएको थियो । ओमानमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटलाई मध्यनजर गर्दै क्यानले टी–ट्वान्टी फम्र्याटमा प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता टी–ट्वान्टी फम्र्याटमा गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अनुमति दिएको क्यानले जनाएको छ ।

प्रकाशित मितिः   २३ पुष २०७८, शुक्रबार ०५:०१