सुर्खेतमा थपिए दश हजार मतदाता
सुर्खेत: सुर्खेतमा दश हजार बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले दुई चरणमा सञ्चालन गरेको नामावली संकलन अभियानमार्फत नयाँ मतदाता थपिएका हुन् । गत मंसिर र पुसमा सञ्चालन गरिएको अभियानमा सुर्खेत जिल्लामा १२ हजार २४ जनाले मतदाता नामावली दर्ता गराएका छन् । जसमध्ये ६ हजार ९६ पुरुष र पाँच हजार नौ सय २८ महिला छन् । सुर्खेतमा नामावली दर्ता गरेकामध्ये एक हजार ६ सय १० जना भने अन्य जिल्लाका हुन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार सुर्खेतमा मात्र १० हजार चार सय १४ नयाँ मतदाता थपिएका छन् । यसअघि सुर्खेतमा दुुई लाख १३ हजार मतदाता रहेका थिए । अब जिल्लामा मतदाताको संख्या दुुई लाख २३ हजार चार सय १४ पुुगेको हो ।
निर्वाचन आयोगले स्थानीयस्तरमै जनशक्ति परिचालन गरी पहिलो र दोस्रो चरणको मतदाता नामावली संकलन विशेष कार्यक्रम गरेको थियो । फोटोसहितको नामावली दर्ताका लागि मंसिर १७ बाट पुस २ गतेसम्म पहिलो र पुस ४ देखि १८ गतेसम्म दोस्रो अभियान चलाइएको हो । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले दुवै चरणका अभियानमा नयाँ मतदाताको संख्या उल्लेखनीय रूपमा बढेको बताए । उनका अनुसार सुर्खेतका नौमध्ये सात वटा स्थानीय तहमा नयाँ मतदाताको नाम दर्ता गरिएको थियो भने जिल्ला प्रशासन कार्यालय सुर्खेत, इलाका प्रशासन कार्यालय बाबियाचौर र प्रदेश निर्वाचन कार्यालयमा पनि मतदाता नामावली संकलन कार्य भएको हो ।
सुर्खेतको चिङ्गाड गाँउपालिकामा एक सय ९८ जना नयाँ मतदाता थपिएका छन् । जसमा एक सय १८ महिला छन् भने ८० जना पुरुष छन् । चौकुने गाँउपालिका मतदाता नामावली संकलन अभियान अन्तर्गत ६ सय ५६ जनाले नाम दर्ता गराएका छन् । तीमध्ये तीन सय ३५ पुरुष र तीन सय २२ महिला हुन् । स्थानीय तहमै नामावली संकलन गरिदा पनि सूचनाको अभावमा मतदाता हुन योग्य धेरै व्यक्तिहरू अझै छुटेको सरोकारवालाहरूले बताएका छन् । यसैगरी लेकवेशी नगरपालिमा नयाँ मतदाता नौ सय ८४ जना बनेका छन् । त्यहाँ चार सय ९५ पुरुष र चार सय ८९ जना महिला मतदाता थपिएका हुन् ।
सुर्खेतकै सिम्ता गाउँपालिकामा पाँच सय ४१ नयाँ मतदाताको नामावली दर्ता भएकोमा त्यसमध्ये महिला दुुई सय ४५ र पुरुष दुुई सय ९६ जना छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार गुर्भाकोट नगरपालिकामा एक हजार चार सय दुुई मतदाता बढेका छन् । त्यहाँ सात सय ३३ महिला र ६ सय ६९ जना पुरुष मतदाता नयाँ बनेका हुन् । यस्तै, बराहताल गाउँपालिकामा जम्मा पाँच सय चार नयाँ मतदातामध्ये महिला दुुई सय ५५ छन् भने पुरुष दुुई सय ४९ जना छन् । राजनीतिक दल र अन्य सरोकारवालाले नै चासो नदिँदा अभियान अपेक्षाकृत रूपमा अघि बढाउन भने निकै चुनौती भएको नामावली संकलनमा खटिएका कर्मचारीहरूले बताएका छन् । अभियानबारे प्रचार–प्रसार, आवश्यक समन्वय र नामावली संकलन तथा व्यवस्थापनमा राजनीतिक दल र जनप्रतिनिधिहरूले नै बेवास्ता गर्दा धेरै मतदाता बन्नुपर्ने नागरिकहरू पनि वञ्चित हुनुपरेको उनीहरूको भनाइ छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका पछिल्लो पटकको नामावली संकलन कार्यक्रममा दुुई हजार ६७ मतदाता समेटिएका छन् । भेरीगंगामा एक हजार १५ पुरुष तथा एक हजार ५२ जना नयाँ मतदाता थपिएका हुन् । पञ्चपुरी र वीरेन्द्रनगर नगरपालिकाको हकमा भने जिल्ला प्रशासन, ईलाका प्रशासन र प्रदेश निर्वाचन कार्यालयबाटै नयाँ मतदाता नामावली संकलनको काम भएको थियो । जसअन्तर्गत प्रशासन कार्यालयमा एक हजार सात सय १४ जनाले नामावली दर्ता गरेको जनाइएको छ । तीमध्ये महिला आठ सय ७९ र पुरुष आठ सय ३५ नयाँ मतदाता बनेका छन् । त्यस्तै, ईलाका प्रशासन कार्यालय बाबियाचौरमार्फत एक हजार ५४ जनाले मतदाता नामावली बनाएका छन् । तीमध्ये पाँच सय ५६ जना महिला र चार सय ८९ जना पुुरुष मतदाता हुन् । प्रदेश निर्वाचन कार्यालयमा ६ सय ३७ महिला र ६ सय ५६ पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराइएको जनाइएको छ । निर्वाचन आयोगले मतदाता नामावली संकलनको विशेष अभियान छोटो समय मात्र सञ्चालन गरेकाले धेरै नागरिक मतदाता बन्नबाट वञ्चित भएको राजनीतिक दलका नेताहरुले बताएका छन् ।
आगामी निर्वाचनलाई लक्षित गरी यसपटक निर्वाचन आयोगले स्थानीय तहका केन्द्रमै मतदाता नामावली संकलनको व्यवस्था मिलाएको थियो । अभियानमा अन्य जिल्लाका नागरिकको पनि बसोबास गरिएकै स्थानबाट समेत नाम दर्ता गरेका छन् । अभियान कर्णालीका १० वटै जिल्लामा सञ्चालन गरिएको हो । निर्वाचन आयोगका अनुसार नामावली संकलन विशेष कार्यक्रममार्फत कर्णाली प्रदेशभर ४७ हजार मतदाता थपिएका छन् । मतदाता नामावली दर्ता कार्य सम्बन्धित जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयबाट पनि गरिएको थियो ।
दैलेखमा तीन हजार ६ सय ६५ जना नयाँ मतदाताको नामावली संकलन भएको छ । जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाका अनुसार दुुई हजार ३३ महिला र एक हजार ६ सय ३२ पुरुष नयाँ मतदाता बनेका हुुन् । दैलेखमा २०७७ चैत ४ गतेसम्म एक लाख ५५ हजार तीन सय १५ मतदाता थिए । त्यसयता नियमित दर्ता तथा विभिन्न शिविर गरी जिल्लामा झन्डै आठ हजार हाराहारी नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । डोल्पामा पनि मतदाता दर्ता विशेष कार्यक्रममा एक हजार ११ जनाले नामावली दर्ता गरेका छन् । जिल्ला निर्वाचन अधिकारी श्यामकुमार राईले पाँच सय ५६ महिला र चार सय ५५ पुरुषले नाम दर्ता गराएको जनाए । यसैगरी, सल्यानमा पछिल्लो अभियानमा एक हजार आठ सय ५५ जनाले मतदाता नामावली दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर टेकेन्द्रकुमार चन्दले त्यसमध्ये पाँच हजार पाँच सय १७ जना महिला र पाँच हजार तीन सय पुरुष मतदाता रहेको जनाए । सल्यानमा २०७४ को निर्वाचनसम्म एक लाख २५ हजार दुुई सय ५६ जना मतदाता थिए ।
प्रकाशित मितिः २० पुष २०७८, मंगलवार ०५:०५
भीमबहादुर परियार ।