जिफन्ट सुर्खेतमा सारु

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सुर्खेतको अध्यक्षमा श्रीपाल सारु चयन भएका छन् । महासंघको आइतवार वीरेन्द्रनगरमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले सारुको नेतृत्वमा ११ सदस्यीय नयाँ जिल्ला समिति गठन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा दुर्गा धमला, सचिवमा जीवन गौतम, सहसचिवमा रामबहादुर रावल र सदस्यहरूमा क्रमशः बलबहादुर सोती, शीला सुनार, खीमाकुमारी सोती मगर, भीमु रोकाय र जयप्रकाश शर्मालाई चयन गरेको छ । अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि नेकपा (एमाले) कर्णाली प्रदेश नं. ६ का सह–संयोजक यामलाल कँडेलले अग्रगामी उद्देश्य राखेर संगठित घटक युनियनहरूको छाता संगठन जिफन्टले श्रमिकहरूमा समान व्यहार र अर्थ व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी कार्यक्रमका विशेष अतिथि नेकपा (एमाले) सुर्खेतका सचिव मोहनसिं बडुवालले श्रमिकहरूको बाहुल्यता रहेको मुलुकमा श्रमिकले उचित ज्याला, सामाजिक सुरक्षा र राज्यले तोकेको सेवा सुविधा पाउनुपर्नेमा जोड दिए । कार्यक्रममा कर्णाली प्रदेश नं. ६ का संयोजक कमल गौतम, सचिव पूर्ण केसी, आर्थिक प्रमुख टेकबहादुर सिंजाली, सञ्चार प्रमुख तेजप्रकाश जिसी र सदस्य चन्द्रा धामीले नवनिर्वाचित जिल्ला समितिलाई शुभकामना एवम् बधाई दिएका थिए भने कार्यक्रम जिफन्ट अध्यक्ष तोरण विकको सभाध्यक्षमा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः   ४ पुष २०७३, सोमबार १४:२५