आजदेखि पुनः गाडी सञ्चालन
सुर्खेत: दैलेको गुराँस गाउँपालिकाको गाईबान्नास्थित बाइपास रोडबाट गाडीहरू आवतजावतको व्यवस्था मिलाइएको छ । सडक स्तरोन्नतीको काम भइरहेकाले मंसिर दोस्रो सातादेखि सुर्खेत–दैलेख सडकखण्डमा ठूला गाडी सञ्चालनमा रोक लगाइएको थियो । यो रूटमा अब भने यात्रुबाहक सवारीसाधन गुड्ने व्यवस्था मिलाइएको हो । आज (मंगलवार)देखि यात्रुबाहक साना गाडी चल्ने भएका हुन् । हाइस, फोर्सलगायतका गाडीलाई दुईतर्फी चल्न दिइने जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
यात्रुको सहजताका लागि बाइपास रोडलाई ग्राबेल गरेर हाइस तथा फोर्स गाडी दुवैतिर चल्न सक्ने बनाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । उनका अनुसार मालबाहक ट्रक र ठूला बस भने कर्णाली राजमार्गको सियाकोट, तल्लो डुंगेश्वरदेखि बाँगेसिमलको रूट हुँदै गुड्ने छन् । सबै सवारी साधन यही रूटमा चल्दा दूरी लामो पर्ने र भाडासमेत महँगो भएको गुनासो आएपछि साना सवारी साधन मर्मत हुँदै गरेको सडकखण्डबाटै सञ्चालन गर्ने विकल्प निकालिएको हो । प्रशासन कार्यालयले सडक डिभिजन सुर्खेतसँग समन्वय गरेर वैकल्पिक उपाय निकालेको प्रजिअ प्याकुरेलले बताए ।
बन्दै गरेको सडक पुस मसान्तसम्म अवरुद्ध हुने जनाइएको छ । यसअघि मंसिर १५ देखि पुस १५ गतेसम्म सडक स्तरोन्नती गरिसक्ने भनिए पनि हालसम्म जम्मा आधा काम मात्र सम्पन्न भएको छ । जसले गर्दा सडक मर्मतको काम केही दिन अझै लम्बिने देखिएको हो । त्यतिबेलासम्मका लागि साना सवारी बाइपास रूटबाट र ठूला सवारीका साधन कर्णाली राजमार्गको रूट हँुदै चल्ने छन् । गुराँस गाउँपालिकाको गाईबान्नास्थित घाम ताप्ने भिरमा चट्टान काटेर सडक फरकिलो बनाउन लागिएको छ । भीरको चट्टान काट्ने काम ५० प्रतिशत सकिएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । उक्त भीरमा साँघुरो बाटो भएकाले फराकिलो गर्न चट्टान काट्न लागिएको छ । अहिले तीन मिटर मात्रै सडक चौडा रहेको यो भीरमा १५ मिटर उचाइको भीर कटान गरेर सात मिटर चौडा सडक बनाइने बताइएको छ ।
प्रकाशित मितिः १३ पुष २०७८, मंगलवार ०५:०१
साझा बिसौनी ।