पक्की पुलले जोड्दै रामघाट र दशरथपुर
पूर्वी सुर्खेतका रामघाट र दशरथपुरकोबीचमा रहेको भेरी नदीमा पक्की पुल निर्माण हुने भएको छ । झोलुंगे पुललाई विस्थापित गर्दै रामघाट र दशरथपुरलाई अब पक्की पुलले जोड्ने भएको हो ।
भेरीगंगा नगरपालिकाको रामघाट र दशरथपुर जोड्ने पक्की पुलको शनिवार शिलान्यास गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र पूर्व गृहमन्त्री तथा सुर्खेत क्षेत्र नम्बर १ का सांसद पूर्णबहादुर खड्काले संयुक्त रूपमा पुलको शिलान्यास गरेका हुन् ।
तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको पुलको लागत २५ करोड ३२ लाख ४१ हजार रूपैयाँ रहेको छ ।
कुल लागतमध्ये २३ करोड ६२ लाख ६७ हजार ५ सय ९३ रूपैयाँमा पक्की पुल निर्माण कम्पनीसँग कबोल भएको छ । नदीमा एक सय ५४ मिटर लम्बाई रहेको स्टील ट्रष्ट पक्की पुल तीन वर्ष भित्र निर्माण सम्पन्न हुने सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख बेलबहादुर भुजेलले जानकारी दिए ।
रामघाट र दशरथपुरस्थित भेरी नदीमा निर्माण हुन लागेको यो पक्की पुल दुई स्पान हुनेछ भने पुलको चौडाई ७ दशमलव ५ मिटरको छ । नेपाल ईन्जिनियरिङ ट्रष्टले पुलको डिजाइन गरेको हो । पुल निर्माण भएपछि सुर्खेतका पूर्वी क्षेत्रका दशरथपुर, गुमी, नेटा, लेखफर्सा, कल्याण, रजेना, खानीखोला, डाँडाखाली, रानीवास, काफलकोट, घोरेटा, आग्रीगाउँ, बजेडीचौर लगायतका नागरिकलाई सहज हुनेछ ।
वर्षौदेखि यस क्षेत्रका नागरिक पक्की पुल नहुँदा स्थानीय उत्पादनहरू वीरेन्द्रनगरको धुलियाविट भएर बाहिर जिल्ला निर्यात गर्नुपर्ने बाध्यता रहेको थियो । निर्माणको ठेक्का आशिष जेभीले पाएको छ । पक्की पुल निर्माण हुने भएपछि त्यस क्षेत्रका बासिन्दा खुशी भएका छन् ।
प्रकाशित मितिः ३ पुष २०७३, आईतवार १२:२४
साझा बिसौनी ।