मापसे गरी सवारी साधन चलाए कक्षा लिनुपर्ने
सातामा दुई दिन सचेतना कक्षा सञ्चालन गरिने छ । उक्त कक्षामा मदिरा सेवन गरेर सवारी साधन चलाउँदा हुने जोखिम र क्षतिबारे चालकलाई सचेत गराइने छ ।
सुर्खेत: मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनेको संख्या बढ्न थालेपछि प्रहरीले चेकजाँचमा कडाइ गर्ने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मदिरा सेवन गर्ने सवारी चालकलाई कारबाहीसँगै सचेतनामूलक कक्षा दिने भएको हो । बिहीवारबाट सचेतना कक्षा सुरू गरिएको सुर्खेत ट्राफिक प्रहरी प्रमुख (प्रहरी निरीक्षक) उपेन्द्रप्रसाद आचार्यले बताए । मादक पदार्थ सेवन गरेर सवारी चलाउनेका कारण सडक दुर्घटना बढ्न थालेको भन्दै उनले त्यसको न्यूनीकरणका लागि यस्तो अभियान थालिएको जनाए ।
जसअन्तर्गत बिहीवार एक दिनको सचेतना कक्षामा ३० जना सहभागी भएका थिए । सातामा दुई दिन सचेतना कक्षा सञ्चालन गरिने छ । उक्त कक्षामा मदिरा सेवन गरेर सवारी साधन चलाउँदा हुने जोखिम र क्षतिबारे चालकलाई सचेत गराइने छ ।
मदिरा सेवन गरी सवारी चलाउनु कानुनविपरीत भएकाले यसको दण्डसजायको सम्बन्धमा पनि जानकारी दिइने प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक आचार्यका अनुसार चालु आर्थिक वर्षको यो अवधिमा सुर्खेतमा मदिरा सेवन गरेर सवारीसाधन चलाउने एक सय ९२ जनालाई कारबाही गरिएको छ ।
प्रकाशित मितिः ९ पुष २०७८, शुक्रबार ०५:०२
साझा बिसौनी ।